बर्दघाट,जेष्ठ -२२
उद्योग ब्यापार सङ्घ बर्दघाटले नगरपालिका भित्रका उद्योगी व्यवसायीहरूको व्यवसयीक सुरक्षाका सवालहरूमा निति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने माग गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापनपत्र पेश गरेको छ ।
सङ्घले नगरपालिकाले उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउने मात्र नभई उद्योगी व्यवसायीको पक्षमा पनि विभिन्न योजनाहरू अगाडि बढाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नगरमा कर बुझाउने व्यापारीहरूको लागि जोखिम बहन गर्ने गरी नगरपालिकाबाटै बिमा गरिदिनुपर्ने, बजार क्षेत्रमा उपभोक्ताको आगमन बढाउनका लागि बजारको सौन्दर्यीकरण, ब्यबस्थीत बजारीकरणका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
बर्दघाट देखी महेशपुर नाकासम्मको सहज पहुँच बनाई भन्सार मार्फत आउने सामानको गोदाम सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सुलभ रुपमा ठाउँ उपलब्ध गराउन सके बजारको चलायमानमा वृद्धि हुने तर्फ नगरपालिकाको ध्यान जान आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
बजारको चलायमान गराउनका लागि स्ट्रिट फेस्टिभल, विभिन्न चाडपर्व लक्षित सांस्कृतिक कार्यक्रमहरूलाई नगरपालिकाले प्रवर्द्धन गरी सञ्चालन गर्ने वातावरण बनाउन सङ्घको सुझाव रहेको छ । बजारलाई रात्रिकालीन रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार र व्यवस्थापकीय काम प्रति नगरपालिकाले ठोस योजना बनाएर रात्रिकालीन बजारको अवधारणा अगाडि बढाउन सके आर्थिक चलायमानमा सहयोग पुग्ने पनि सङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सङ्घले आगलागीका घटनाको न्यूनिकरण र त्यसबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि सञ्चालन गरिएको अग्नि नियन्त्रक यन्त्र राख्ने अभियानलाई नगरपालिकाले अपनत्व लिएर निरन्तर अगाडि बढाउन पनि ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।
नगरपालिकाले पर्यटन प्रवर्धन, कृषिको ब्यबसायीकरण, बाँझो जमिनको सदुपयोग सँगै स्थानीय स्तरमा रोजगारी सिर्जनाका लागि ठोस नीति ल्याएमा सहकार्य गर्न सङ्घ सदैव तयार रहेको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
सङ्घले बुझाएको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको आर्थिक विकासका लागि उद्योग ब्यापार सङ्घ लगायतका संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम जेठ २६ गते सार्वजनिक गर्दैछ ।