बर्दघाट,जेष्ठ–१७
पश्चिम नवलपरासीमा ७ सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास निर्माण हुने भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा सञ्चालित ’भूमिहीन नागरिकका लागि आवास निर्माण’ कार्यक्रमअन्तर्गत प्रत्येक घरपरिवारलाई एक कठ्ठा जग्गासहित तयारी अवस्थाको घर निर्माण गरी हस्तान्तरण गरिनेछ ।
थारु मिलन केन्द्र नेपालका पूर्व अध्यक्ष तथा उपदान कलेक्सन सेन्टरका सदस्य राधेश्याम चौधरीका अनुसार विशेषगरी जिल्लामा ३० वर्षदेखि भूमिहीन अवस्थामा रहेका घरपरिवारलाई जग्गासहित घर उपलब्ध गराइनेछ । प्रति घर करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण हुने छ ।
कार्यक्रमअनुसार पश्चिम नवलपरासीका नगरपालिकातर्फ बर्दघाट, रामग्राम, सुनवल तथा गाउँपालिकाहरू सुस्ता, पाल्हीनन्दन, प्रतापपुर र सरावलमा यो कार्यक्रममार्फत ७ सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ ।
थारु मिलन केन्द्र नेपालले उपदान कलेक्सन सेन्टरमार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ ।
घर निर्माणका लागि जिल्लाका सातवटै पालिकामा आवेदन माग गर्ने प्रक्रिया अघि बढाइएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिईन ।
सातवटै पालिकामा जग्गा खरिद गरी व्यवस्थित बस्तीको रूपमा भूमिहीन परिवारलाई एकै स्थानमा आवास निर्माण गर्ने गरी योजना अघि बढाइएको छ । थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीका सातवटै पालिकामा भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि आवश्यक काम अघि बढाइएको थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य आशा चौधरीले जानकारी दिए ।
उक्त कार्य अघि बढाउन थारु मिलन केन्द्र नेपाल, उपदान कलेक्सन सेन्टरको आयोजनामा पश्चिम नवलपरासीमा भूमिहीन नागरिकका लागि आवास निर्माणसम्बन्धी छलफल कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बर्दघाट १२ जहवामा थारु मिलन केन्द्र नेपालका अध्यक्ष देवनन्द सिंह फैजदारको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बर्दघाट वडा नं. १२ का वडा अध्यक्ष उमा शंकर चौधरी, दिप कुमार चौधरी, गिरीश चौधरी, सुरज केसी, मुरली कृष्ण लगायतले भूमिहीनहरूलाई घरजग्गा दिने काम प्रभावकारी हुने बताए ।
थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरद्वारा यसअगावै कैलाली र बर्दियामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ