नारायण भण्डारी
जेठ –१५
पश्चिम नवलपरासीमा प्रशोधित पिउनेपानीको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । जिल्लामा रहेका ६ वटा कम्पनीले समिति बनाए पानीको मूल्य वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका छन् ।
१ महिना अघि सम्म व्यवसायीलाई १ सय १५ रुपैयाँ पेटीमा बिक्री भएको पानी अहिले १५० रुपैयाँ पेटी पुगेको छ । उपभोक्तालाई १ सय ३० रुपैयाँबाट बढेर १ सय ७० पुगेको छ । व्यवसायीका लागि प्रति पेटी ३५ रुपैयाँ वृद्धि हुँदा उपभोक्ताका लागि ४० रुपैयाँ सम्म वृद्धि भएको छ । पानीको मूल्य वृद्धिको यथेष्ट कारण भने छैन ।
बर्दघाट ४ नगरपालिका रोडमा होसेल पसल गर्दै आईरहेका व्यापारी श्याम पन्थले पानीको मूल्यमा अस्वभाविक वृद्धि हुँदा उपभोक्तालाई जवाफ दिन पनि गाह्रो भएको बताए । उनले पानी उत्पादक कम्पनीले समितिका नाममा एकाधिकार बनाएर बाहिरका कम्पनीलाई आउन नदिँदा मूल्य बढे पनि त्यही पानी बिक्री गर्नुको विकल्प नरहेको उनको भनाई छ ।
बर्दघाटमा दिम्सुम होटलका सञ्चालक विकास नेपालीले पहिला १ सय ३० रुपैयाँ पेटीमा खरिद गरेको पानी अहिले १ सय ७० रुपैयाँमा किन्नु परेको बताए । पानी कम्पनीले एकाधिकार कायम गरी आफूखुसी मूल्य वृद्धि गर्दा यस तर्फ अनुगमनकारी निकायको ध्यान नपुग्नु दुःखद भएको उनको भनाई छ ।
सरावल १ मा रहेको आरोग्य पानीका म्यानेजर केदार अधिकारीले अहिले पानीको समिति गठन भएको तर के कारणले मूल्य बढेको भन्ने विषयमा आफू जानकार नभएको बताउँछन् । उनले आफू कम्पनी सञ्चालक नभई कर्मचारी मात्र भएकोले यस्तो विषयमा आफूलाई जानकारी नहुने उनको भनाई छ । पानी कम्पनीले मूल्य वृद्धि मात्र गरेको छैन एक पटकमा अनिवार्य रुपमा ५० पेटी पानी खरिद गर्नुपर्ने बाध्यता पनि सिर्जना गरेको छ । ५० पेटी भन्दा कम अर्डर गरे पानीनै नल्याइदिने व्यापारीहरू बताउँछन् ।
पानी कम्पनी सञ्चालकहरूले बनाएको समितिका अध्यक्ष लेकाली पानीका सञ्चालक आकाश श्रेष्ठले मूल्य बढाएको नभइ १ सय ६० रुपैयाँबाट १ सय ५० रुपैयाँमा झारेको बताए । उनले उल्टै १० रुपैयाँ मूल्य घटेको बताए । उनले यसो भनिरहँदा १ महिना अघि सम्म बजारमा पसलका लागि १ सय १५ रुपैयाँ पेटीमा पानी बिक्री भैरहेको थियो । पानी कम्पनी सञ्चालकहरूले बनाएको समिति राज्यको निकायमा आधिकारिक दर्ता भने भएको छैन ।
जिल्ला अनुगमन समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले बजारमा एकाधिकार कायम गरी विना कारण मूल्य वृद्धि गर्नु प्रचलित कानुन विपरित हुने बताउनुभयो । भण्डारीले यस विषयमा तत्काल अनुगमन गर्ने र दोषी भए कानुनी प्रकृया अनुसारको कारबाही गर्ने बताउनुभयो । कम्पनीहरू स्वच्छ प्रतिस्पर्धा गर्दा उपभोक्ताका लागि गुणस्तरीय र उचित मूल्यमा बस्तु तथा सेवा उपलब्ध हुने भए पनि कुनै पनि किसिमले एकाधिकार गर्ने र विना कारण मूल्य बढाउँदा उपभोक्ता अधिकार माथी हनन् हुने भण्डारीको भनाई छ ।