कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१२
बर्दघाट उद्योग वाणिज्य संघले एक दिवसीय निःशुल्क कृषि तालिम सम्पन्न गरेको छ । बर्दघाट नगर स्तरीय कृषक सञ्जालको समन्वयमा आयोजित तालिममा नगरका ब्यवसायिक तथा जिविको पार्जन गर्ने कृषकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र बर्दघाट नगरउप प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त तालिममा कृषि विज्ञ डा. केदार बुढाथोकी प्रमुख प्रशिक्षकका रुपमा रहनु भएको थियो भने बर्दघाट नगरका पशुपंक्षि शाखा प्रमुख भरत लम्साल र कृषि शाखाका नबिन ढकालले पनि सहजीकरण गर्नु भएको थियो ।
तालीमको उदघाटन कार्यक्रममा बोल्दै बर्दघाट नगर उप–प्रमुख उपाध्यायले नगरले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिएको बताउनु भएको छ । राज्यले जुनरुपमा कृषिमा लगानी गर्नु पर्नेहो त्यो रुपमा गर्न नसकेको बताउदै उपाध्ययाले नगरले शुरु गरेको कृषि बजार पनि कारणवस बन्द गर्नु परेको बताउनु भयो ।
नगरका किसानहरुले उत्पादन गरेको वस्तुलाई विक्रिगर्ने वातावरण र नगरवासीलाई नगरकै उत्पादन प्रयोग गर्ने बानीको विकास गर्न खोजीए पनि कानुनी जटिलताका कारण शुरु गरेकै एक बर्षमा बन्द गर्नु परेको जानकारी गराउनु भएको थियो ।
संस्थाका महासचिव गंगा पाठकको सञ्चालनमा भएको तालिम समुदघाटन कार्यक्रममा बोल्दै बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले किसानहरुका लागि नगरले सिंचाईमा सहयोग गर्ने देखि बिभिन्न कृषि औजार एवं कृषि यन्त्रहरुमा लागत साझेदारी गर्दै आएको र आगामी बजेटमा समेत कृषिलाई ध्यानमा राखेर बजेट विनियोजना गर्न नगरपालिका पछि नपर्ने बताउनु भएको थियो ।