कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–११
बर्दघाट नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको फोहोर मैला प्रशोधन केन्द्र निर्माण कार्यले पूर्णता पाउने भएको छ । पारिजात सामुदायिक वन बर्दघाट– ४ को शनिवार भएको विशेष परिषद तथा साधारणसभाले नगरको गौरवको आयोजनाका रुपमा रहेको फोहोर मैला प्रशोधन केन्द्र सञ्चालनका लागि ४।८४ हेक्टर जमिन भोगचलनका लागि उपलब्ध गराउने सहमति दिने निर्णय गरेसंगै अयोजनाले पूर्णता पाउने भएको हो ।
सामुदायिक बनले सहमतिका लागि गरेको निर्णय पछि अब सव डिभिजन कार्यालय, डिभिजन वन कार्यालय र प्रदेश हुँदै सङ्घ सरकारको बन मन्त्रालयबाट मन्त्री परिषदको निर्णय पछि जग्गा भोगचलन गर्न सकिने कानुनी प्राब्धान रहेको छ ।
शनिवार भएको सामुदायिक वनको विशेष परिषद तथा साधारणसभामा बोल्दै प्रमुखअतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले विगत २५ वर्ष अघि देखी फोहोर अव्यवस्थित रुपमा अस्थायी रुपमा व्यवस्थापन गर्दै आएकोमा अब भने व्यवस्थित रुपमा फोहोर प्रशोधन केन्द्र सञ्चालन गरेर फोहोरको व्यवस्थापन गरिने बताउनुभयो ।
उहाँले नगरपालिका सँग फोहोर व्यवस्थापनका लागि नगरको नाममा रहेको जग्गा नरहेको र सार्वजनिक जग्गा पनि नरहेकोले सामुदायिक बनमा फोहोर व्यवस्थापन गर्नका लागि कानुनी रुपमा सामुदायिक बनको संरक्षणमा रहेको जग्गा भोगाधिकारका लागि साधारण सभाले निर्णय गरेपछि बाँकी प्रकृया अगाडि बढ्ने बताउनुभयो । झन्झटिलो कानुनी प्रकृया भएका कारण दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनका लागि ढिलो भएको श्रेष्ठको भनाई रहेको थियो । फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्ने भनिएको क्षेत्रमा आइ इ इ गर्नका लागि अघिल्लो साधारणसभाले निर्णय गरेपछि धेरै प्राविधिक काम अगाडि बढिसकेको बताउँदै श्रेष्ठले अब यही आर्थिक वर्ष भित्र बाँकी काम सकेर टेन्डर खुलाउने जानकारी दिनुभयो । उहाँले फोहोर फाल्ने नभई फोहोर बाट मोहोर कमाउने गरी व्यवस्थित केन्द्र सञ्चालन गरिने भएकोले वातावरणीय रुपमा नकारात्मक प्रभाव नपर्ने धारणा राख्नुभएको थियो ।
पूर्व बन अधिकृत गिरिराज पन्थले प्रशोधन केन्द्रको लागि जग्गा भोगाधिकारका लागि ऐनमा भएको व्यवस्थाको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले फोहोर प्रशोधन केन्द्र सञ्चालनका लागि बर्दघाट नगरपालिकाले जग्गा माग गरी निवेदन दिए पछि यसको प्रकृया अगाडि बढेको बताउनुभयो । पन्थले सबैको हातेमालो र सहयोगले योजना सफल बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
बर्दघाट नगरपालिकाका बन तथा वातावरण शाखाका प्रमुख तथा फोकल पर्सन कृष्ण थापा क्षेत्रीले फोहोर व्यवस्थापन कसरी गर्ने भन्दा पनि जग्गाको व्यवस्थापन साधारणसभामा छलफलको मुख्य विषय भएको बताउनुभएको थियो । बर्दघाट नगरपालिकामा फोहोर व्यवस्थापनका लागि पटक पटक छलफल अन्तरक्रिया र सार्वजनिक सुनवाई कार्यक्रम गरिसकेकोले सामुदायिक बनले भोगाधिकारका लागि सहमति दिएपछि योजना अगाडि बढ्ने उहाँको भनाई थियो । हाल प्रशोधन केन्द्र सञ्चालन गर्ने भनिएको ठाउँमा धेरै रूखहरू पनि नपर्ने र बुट्यान धेरै भएकोले खासै धेरै क्षति नहुने थापाले बताउनुभयो ।
फोहोर ब्यस्थापनका लागि दीर्घकालीन रुपमा प्रभाव पार्ने विषय भएकोले अहिलेको निर्णयले पछि सम्म समस्या नपरोस भन्नका लागि हालको ठाउँ उपयुक्त रहने भन्ने अध्ययन प्रतिबेदनले उल्लेख गरेकोले थापाले बताउनुभयो ।
सामुदायिक बनका अध्यक्ष कमानसिँह थापाले सव डिभिजन बन कार्यालयले राय सुझाव सहितको प्रतिवेदन माग गरेको र बर्दघाट नगपालिकाले जग्गाको भोगाधिकारका लागि सहमति माग गरी पत्राचार गरेकोले यसको निर्णयका लागि विशेष परिषद तथा साधारणसभा गरिएको बताउनुभयो । थापाले साधारणसभामा सव डिभिजन बन कार्याल र बर्दघाट नगरपालिकाबाट प्राप्त भएको पत्रको हुबहु बेहोरा पढेर परिषद सदस्यहरुलाई सुनाउनु भएको थियो ।
साधारणसभामा परिषद सदस्य रामप्रसाद पौडेलले फोहोर व्यवस्थापनका सन्दर्भमा यसले दीर्घकालीन प्रभाव र समस्याका बारेमा बृहद मन्थन हुनु आवश्यक रहेको बताउनुभएको थियो । उहाँले नगरबाट गठित उपसमितिले तयार पारेको प्रतिवेदन, डिपिआर अध्ययन गर्न पाउनुपर्ने बताउनुभएको थियो । उहाँले योजना सञ्चालन गर्दा कम भन्दा कम रुखको क्षति हुनेगरी काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले छपान गरिएका रुख र कटान हुने रुखको बारेमा स्पष्ट पार्न माग गर्नुभएको थियो ।
परिषद सदस्य गोपाल पाण्डेले कुहिने फोहोरका लागि हाल हेरिएको ठाउँ पनि अब्यबस्थीत हुन सक्ने बताउनुभएको थियो । सभामा बोल्ने अन्य सदस्यहरुले पनि दीर्घकालीन रुपमा असर नपर्ने र सहि रुपपमा फोहोर व्यवस्थापन हुनेगरी प्रशोधन केन्द्र सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।