कृष्ण ढकाल
बर्दघाट–जेष्ठ–४
नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले सञ्चालन गरेको वडा केन्द्रीत जराअभियान सञ्चालन हुन बाँकी रहेका वडामा आगामी जेठ १५ गते भित्र सम्पन्न गर्न निर्देशन गरेको छ । जिल्ला कमिटीको शनिवार पार्टी कार्यालय परासीमा भएको वडा केन्द्रीत तीन महिने जरा अभियानको समिक्षा तथा तेस्रो पूर्ण बैठकले उक्त निर्देशन गरेको हो।
मदन(आश्रित स्मृति दिवसको अवसरमा पार्टीको वडा केन्द्रीत जरा अभियान र त्यसको प्रभावबारे समिक्षा गर्दै अभियान सञ्चालन हुन बाँकी रहेका वडामा आगामी जेठ १५ गते भित्र सम्पन्न गर्न निर्देशन गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले जानकारी दिनु भएको छ ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार मिसन ८४ लाई सफल बनाउन र पार्टी सुद्धिकरणका लागि जिल्लामा सञ्चालन गरिएको वडा केन्द्रीत जरा अभियान करिब ७० प्रतिशत वडामा सम्पन्न भएको अधिकारीले बताउनु भयो। बाँकी रहेका ३० प्रतिशत वडामा तत्काल अभियान सञ्चालन गरि पार्टी सदस्यता समेत नवीकरण गरेर १५ गते भित्र जिल्ला कमिटीलाई प्रतिवेदन पेश गर्न निर्देशन गरिएको अध्यक्ष अधिकारीले बताउनु भएको छ ।
जिल्लामा सात स्थानीय तह र ७४ वडा रहेका छन् । बैठकमा अभियानको विषयमा पालिका कमिटीका प्रतिनिधिहरुले रिपोटिङ्ग गरेका थिए । जिल्ला अध्यक्ष अधिकारीले पद लिने तर जिम्मेवारी बहनमा तदारुक्ता नदेखाउने प्रवृत्ति हावी हुँदै गएको भन्दै आफ्नी जिम्मेबारी पूर्ण रुपमा पूरा गर्न र एकताबद्ध भएर पाटीलाई बलियो बनाउने तर्फ लाग्न सबै समक्ष आग्रह गर्नु भएको थियो।
एमाले केन्द्रीय सदस्य बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको योगदानबारे चर्चा गर्दै उहाँहरुप्रति श्रद्धासुमन व्यक्त गरिएको पार्टीका जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारीले जानकारी दिनुभयो। जिल्ला उपाध्यक्ष डोलराज भण्डारीको स्वागत तथा सचिव धीरज शर्मा बस्यालको सञ्चालन रहेको उक्त बैठकमा एमाले लुम्बिनी प्रदेशका सदस्यहरुको पनि सहभागिता रहेको थियो।