sunwal

उद्योग ब्यापार सङ्घ बर्दघाटद्धारा अनियमित रुपमा हुने बिधुत कटौती रोक्न आग्रह

491

कृष्ण ढकाल
बर्दघाट,बैशाख –२२
पूर्व सूचना विना पटक पटक लाइन काटिने र अनियमित हुने आपुर्तिले उद्योगी व्यवसायी र आम नागरिकहरू मर्कामा परेको भन्दै उद्योग ब्यापार सङ्घ बर्दघाटले अनियमित रुपमा हुने बिधुत कटौती रोक्न आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाउदै तत्काल अनियमित रुपमा हुने बिधुत कटौती रोक्न आग्रह गरेको हो ।

त्यसैगरी अनियमित रुपमा पटक पटक लाइन काटिने र आउने गर्दा आइतबार बर्दघाट ४ स्थित महाशिवरात्रि इलेक्ट्रोनिक्स पसलमा विद्युत सर्टका कारण आगलागी भएर ठुलो क्षति भएको भन्दै अनियमित बिधुत कटौती रोक्न र अनियमित भोल्टेज सप्लाइलाई समेत नियन्त्रण गर्न माग गर्दै वितरण केन्द्र प्रमुख इन्जिनियर प्रशान्त कुमार झा लाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सङ्घका अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा गएको टोलीमा बर्दघाट जेजीजका अध्यक्ष मोहन सापकोटा, होटल तथा रेष्टूरेन्ट ब्यवसायी संघ नवलपरासीका उपाध्यक्ष भरत कंडेल,बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा लगायत उद्योग ब्यापार सङ्घका पदाधिकारी र व्यवसायीहरू सहभागि रहेका थिए ।

उद्योग ब्यापार सङ्घ बर्दघाटका अध्यक्ष्ँ राजु न्यौपानेको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा बिधुत प्राधिकरणको लापर्बाहीका कारण उद्योगी व्यवसायी र आम नागरिकले भोग्नुपरेको समस्या प्रति गम्भिर हुनका लागि अनुरोध गरिएको छ । आईतबारको घटनाले केवल आर्थिक क्षति मात्र नभई जुनसुकै बेला गम्भिर दुर्घटना हुन सक्ने र मानवीय सुरक्षामा समेत गम्भिर खतरा उत्पन हुनसक्ने संकेत गराएको उल्लेख छ । समस्या समाधानमा वितरण केन्द्रले गम्भीरता नदेखाउनु दुःखद रहेको उल्लेख गर्दै तत्काल समस्याहरू समाधान नगरेमाा उद्योगी, ब्यबसायी र आम नागरिक विद्युत प्राधिकरणको गैरजिम्मेवारीपन प्रति आन्दोलनमा उत्रिने समेत पत्रमार्फत केन्द्रलाई अवगत गराइएको छ ।

पत्र बुझ्दै वितरण केन्द्र प्रमुख झा ले अघोषित लोडसेडिङ नरहेको बताउनुभयो । झा ले जोखिम न्यूनिकरणका लागि बजार क्षेत्रमा घर नजिकै कतै नाङ्गा तारहरू रहे त्यसलाई कबर गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उद्योग ब्यापार सङ्घका अध्यक्ष राजु न्यौपानेले उद्योगी व्यवसायीका समस्यामा सदैव संस्था साथमा रहेको बताउँदै समस्या समाधानका लागि निरन्तर लागिरहने बताउनुभयो । वितरण केन्द्रका प्रमुख सँग सौहार्द्रपूर्ण छलफल भएको र समस्या समाधान हुनेमा आशावादी रहेको न्यौपानेको भनाई छ ।