कृष्ण ढकाल
बर्दघाट,फागुन–२३
नवलपरासीको सुस्ता गाउँपालिका वडा नं.३ सेखुवनामा घर निर्माणको क्रममा विद्युत सर्ट हुँदा ५ जना दाजुभाईको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । शुक्रवार आज मध्यान्य साढे १२ बजे अचाकन विद्युत सर्ट भई आगो लागेको हो ।
स्थानीय सहजाद अन्सारीको घर भित्र भएको विद्युतीय बोर्डमा आगो लागेपछि संगैका अन्य चार भाईको घरमा पनि आगो सल्कीएको थियो । टिनको छानो मुनि खरको छाप्रो भएकोले संगैका अन्य घरमा पनि आगो सल्किएको हो । सहजाद सहित कसिम अली, नुरमोहम्द अली, सख आलम मिया र अफताव अलीको घर पूर्णरुपमा जलेको सुस्ता गाउँपालिका वडा नं.३ का अध्यक्ष हरिलाल दुषाधले जानकारी दिनु भयो ।
आगलागी नियन्त्रणमा लिने प्रयासमा २ जना पुरुष र १ जना महिला घाइते भएका छन् । इद्रिस अलिकी श्रीमती ४० बर्षिया सतारुल नेसा ३५ बर्षका निजामुद्दिन र २३ बर्षका तैमुरदिनलाई चौपत्ता सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अन्य मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट करिव २७ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । रामग्राम नगरपालिका र वर्दघाट नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक नारायन थापाले जानकारी दिनु भयो ।
