Jilla Ban Notis

साँढेजात्रा ः राजेन्द्र घायल

0 21

( व्यङ्ग्य कविता)

न खेत जोत्छन् न गाडा तान्छन् न गर्छन् तिनले दाइँ
उधिन्छन् माटो बिगार्छन् बाटो देखाउँदै टाइँ र फाइँ
स-साना बाच्छा बाच्छीलाई झम्टी आइहाल्छन् हान्नलाई
मोटा छन् निकै छुट्याऊँ भने सकिन्न तान्नलाई
भत्काउने अ‍ाली चोरेर बाली भुसुक्कै खाइदिने
नहुने प्रष्ट भइदिने भ्रष्ट हान्नलाई अ‍ाइदिने
कसैको सिङ र जुरो पहेंलो भएछ सुनले
पुगेन तिनलाई पाएको पीठो पानी र नुनले
तारे र तिल्के राते र झिल्के झाले र मालेले
यो देश चुसे भत्काए लुटे लाले र कालेले
मिलेका बथान फुटाउने तिनै कुदाउने जुधाउने
परको अ‍ाडमा स्वदेशी माटो धुलो झैं उँडाउने
एउटाले भन्छ मेरो सिङ लामो मन पनि शूरो छ
अर्कोले भन्छ मसित अग्लो विशाल जुरो छ
जुरो र सिङको लडाइँ तिनको दाना र खानाको
थलोको निहुँमा झगडा सधैं ढलान र छानाको
ती बस्छन् एउटै थलोमा कहिले गरेर चाटाचाट
नौटङ्की जस्तो भइहाल्छ फेरि सिङ सिङको काटाकाट
देखियो प्रमुख समस्या तिनमा कुँडो र पानीको
एउटाले अर्कोलाई भन्छ धेरै त्यस्ले पो खाने भो
फाँ फाँ र फूँ फूँ हाँ हाँ र हूूँ हूँ होक्काँ र होक्काँ छ
साँढेको जुधाई बाच्छाको‌ मिचाई नराम्रो झोक्का छ
न बेच्न मिल्छ न काट्न मिल्छ न‌ मिल्छ साँट्नलाई
यो साँढे शासन जनताको जीवन गाह्रो भो बाँच्नलाई
इमानदार गोरु रोगाए सढे जो गर्थे कामकाज
सिंगौरी खेल्ने डुक्रने खाने साँढेको चल्यो राज
तिनैका पछि लागेर ब्यर्थ कदम चालिएछ
कतै नपुग्ने बाटो लागेर त्यो यात्रा थालिएछ…

साहित्यकार लेखक ः राजेन्द्र घायल

Leave A Reply

Your email address will not be published.