Sarawal sit lahar Notis

रामग्राम स्तुपमा उत्खनन्का लागी जियोफिजिक्स सर्भे सुरु

0 95

बिकास अधिकारी
कात्तिक १६
भगवान गौतमवुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम ७ उजैनि स्थीत रामग्राम स्तुपमा उत्खननका लागी भु–भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) सुरु भएको छ । बुधवार देखि एक महिना सम्म स्तुपको उत्तर पश्चिम क्षेत्रमा सर्भे तथा उत्खननको काम हुने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिनुभयो ।
सन् २०१८ मा गरिएको भु–भौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तुप परिसरमा पोखरी र विहारको संरचना भेटिएकाले उक्त संरचनाको उत्खननका लागी काम सुरु भएको हो । बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको संलग्नतामा सर्वेक्षणको काम सुरु भएको छ ।

प्रविधिको प्रयोग गरी मानिसको एक्स–रे गरे जस्तै गरी जमिनको स्क्यान गरेर गरिने अध्ययनले जमिनमुनि रहेको संरचनाको बारेमा जानकारी प्राप्त हुन्छ, र सोहि अनुरुप संरचनाको अवस्था पत्ता लगाई उत्खनन् गर्ने गरिन्छ । रामग्राममा विगतमा पनि धेरै अध्ययन भएका छन् यो पटक त्यसलाई थप पुष्टि गर्ने गरी विज्ञको टोलीले एक महिना काम गर्छ प्रमुख पुरातत्व अधिकृत ज्ञवालीले भन्नुभयो ।
विगतमा महत्वपुर्ण संरचना भेटिएकाले त्यसलाई थप उजागर गर्न यो अध्ययन महत्वपुर्ण हुने ज्ञवालीले बताउनुभयो । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले सर्वेक्षण र उत्खननको काम गर्ने छ । विगतमा देखिएका संरचनाको पुर्ण पहिचान गरी त्यसको सांस्कृतिक र एतिहासिक अवस्था बारे उजागर गर्नुनै अहिलको सर्वेक्षणको प्रमुख उदेश्य रहेको पुरातत्व विभागले जनाएको छ । रामग्राम स्तुप क्षेत्रमा सन् १९९९ देखि २००४ सम्म पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन गरिएको थियो त्यसबेला मौर्य र गुप्तकालीन सामग्रीहरू फेला परेका थिए ।

सन् २०१८ मा गरिएको सर्भेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन काम सुरु भएको छ । स्तुप क्षेत्र भित्र ईटा, माटाको भाडाकुडा लगाएतका समाग्रि जमिनको सतहमा पनि भेटिने गरेको छ तर स्तुप क्षेत्र भित्रै खनजोत पनि हुने भएकाले पुरातात्विक महत्वका संरचना नष्ट हुने जोखिम पनि बढेको छ ।
आज देखि सुरु भएको सर्भेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र यादव लगाएतको टोलीले निरिक्षण गरेको छ । नगर प्रमुख यादवले भविष्यामा विश्वसम्पदा सुचिमा सुचिकरणका लागी पनि यो अध्ययन महत्वपुर्ण हुने बताउनुभयो ।

जमिन भित्रका संरचना उत्खनन् गरेपछि रामग्रामको महत्व थप बढ्ने बताउदै उहाँले अब लुम्बिनी विकास कोषले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा पनि धेरै अध्ययनका काम भएको तर यस पटक उत्खनन गर्ने गरी सुरु भएको अध्ययन धेरै महत्वपुर्ण रहेको उहाँको भनाई छ । वुद्धकालिन क्षेत्रहरु अन्र्तगत लुम्बिनी विकास कोष अन्र्तगत रहेको रामग्राम स्तुपको संरक्षण र विकास हुन नसक्दा स्तुप क्षेत्र ओझेलमा पर्दे आएको छ । रामग्राम स्तुप शान्तीका अग्रदुत गौतम वुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो ।

Leave A Reply

Your email address will not be published.