Sarawal sit lahar Notis

प्रजिअले कुलपति डा.न्यौपाने माथी गरेको अपमानप्रति प्रज्ञा प्रतिष्ठानकोआपत्ति ।

326

कृष्ण ढकाल
बर्दघाट,बैशाख–४
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमी माथी आज जिल्ला प्रशासन कार्यालय नवलपरासीको कार्यालयमा भएको अपमानित ब्यवहार प्रति बर्दघाट प्रज्ञा प्रतिष्ठानले आपत्ति जनाएको छ । जिल्लावासी भएकै कारण कार्यालयमा सेवा लिनजाँदा बिहान ११ बजे सम्म पनि कार्यालयमा कोहि नआएका कारण प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउदै आफ्नो सामाजिक संजालमा तस्विर राखेकै कारण अपमानित गर्नु आपत्तिजनक रहेको भन्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानका उप–कुलपति टिका पहारी र परिषद् सदस्यहरुले घोरभर्सना गरेका छन् ।

राष्ट्रिय परिचय पत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा जानुभएका डा.न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले गरेको अपमान र सोही कार्यालयका कर्मचारीले गरेको अभद्र ब्यवहार प्रति खेद प्रकट गर्दै आगामि दिनमा यस प्रकारका अमानविय ब्यवहारहरु कुनै पनि सेवाग्रहीहरुलाई नदोहर्याउनका लागि बर्दघाट प्रज्ञा प्रतिष्ठानका उप–कुलपति टिका पहारी र परिषद् सदस्यहरुले प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गर्ने बताएका छन् ।

त्यस्तै बर्दघाट साहित्य समाजले पनि वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी माथी भएको अपमानीत ब्यवहारप्रति आपत्ति जानएको समाजका अध्यक्ष हुमनाथ आचार्यले बताउनु भएको छ ।

यता यस बिषयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालसंग बुझदा आज कार्यालयको नियमित बैठक भएका कारणले कर्मचारी समयमा आफ्नो कार्यकक्षमा जान नसकेको बताउनु भएको छ । तर आफुले डा. न्यौपानेलाई सोधपुछका लागि मात्र आफ्नो कार्यकक्षमा बोलाएको प्रतिक्रिया दिनु भएको छ ।

कुलपति डा. न्यौपानेलाई नवलपरासी जिल्ला प्रशासनको कार्यालयमा गरीएको अपमानित ब्यवहारको बिषयलाई लिएर सामाजिक संजालहरुमा समेत प्रमुख जिल्ला अधिकारीको चर्काे रुपमा आलोचना भएको छ ।

आज भएको घट्नाक्रमका वारेमा कुलपति डा. न्यौपानेले लेख्नु भएको विस्तृत कुरा यस्तो छ । ( कुलपति डा. न्यौपानेकै सामाजिक संजालकोवालबाट साभार )

आज जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम (बसुप) cमा म प्रमुख जिल्ला अधिकारीकाे सम्मुख हाजिर हुन बाध्य भएँ । कारण थियोे, म मेराे राष्ट्रिय परिचयपत्रका लागि सम्बन्धित शाखामा बिहान १०:०० बजे पुगेको थिएँ । बिस्तारै अन्य सेवाग्राहीहरू पनि पुग्नुभयाे । १०:३० बजिसक्याे, एकजना पनि कर्मचारीहरूकाे उपस्थिति भएको थिएन । सेवाग्राहीहरू सल्बलाउन थाल्नुभएकाे थियोे । इलेक्ट्रोनिक हाजिरीमा केही समय लागेको हाेला भन्ने लागेको थियोे मलाई । मैले कर्मचारीहीन कुर्सीहरूका फाेटाे खिचेँ । १०:४५ बज्यो । अझै पनि कुनै कर्मचारीकाे उपस्थिति भएको थिएन । ११:०० बज्यो । पत्रकार गाेपी ज्ञवालीलाई फाेन गरेँ, उहाँ काठमाडौंमा हुनुहँदाे रहेछ । अब त मेरो पनि धैर्यकाे बाँध टुट्यो । यही कामका लागि म हिजो पनि त्यहाँ पुगेको थिएँ । पुरानाे नागरिकताकाे प्रमाणपत्र भएकोले जन्ममिति उल्लेख थिएन । सम्बन्धित शाखाकी महिला कर्मचारीले जन्ममिति खुलेको प्रमाणपत्र लिएर आउन आग्रह गर्नुभयो । उहाँको सुझावलाई आत्मसात् गरेर आज जन्ममिति खुलेको प्रमाणपत्र लिएर गएकाे थिएँ म । उहाँ भने उपस्थित हुनुभएको थिएन ।
मैले सामाजिक सञ्जालमा सम्बन्धित शाखामा ११:०० बजेसम्म काेही उपस्थित नभएको उल्लेख गरेर प्रमुख जिल्ला अधिकारीज्यूकाे ध्यानाकर्षण हाेस् भनी एउटा स्टाटस पाेस्ट गरेँ । ठिक ११:०१ बजे एकजना पुरुष कर्मचारीकाे उपस्थिति भयो । उहाँले उपस्थित भएपछि तुरुन्तै काम सुरु गर्नुभयो । मेरो पालाे २ नम्बरमा आयो । मेरो ई. जन्ममिति १८-०६-१९५८ रहेको प्रमाणपत्र पेस गरेँ । उहाँले मेरो वि. सं. जन्ममिति साेध्नुभयाे । मैले ४ असार २०१५ हो भनेँ । उहाँले जाेडघटाउ गर्नुभयो । मिति मिलेपछि मेरो काम छिटोछरिताे ढङ्गले गरिदिनुभयाे ।अनि कागज दिएर ७ नम्बरमा पठाउनुभयाे मलाई । म त्यहाँ झ्यालबाहिर तातोमा लाइनमा उभिएको थिएँ ।
एकाएक एउटा कर्मचारी चर्काे स्वरमा घनश्याम परिश्रमी काे हो ?भन्दै आउनुभयो , मैले म हुँ भनेर जानकारी गराएँ । उहाँसँग एक जवान प्रहरी पनि हुनुहुन्थ्यो । उहाँहरूमध्ये कर्मचारीले मलाई च्याप्प समाउनुभयाे र भित्र जान भन्नुभयो । प्रहरी पनि पछि पछि लाग्नुभयाे । म अचम्म मान्दै थिएँ । मलाई प्रमुख जिल्ला अधिकारीज्यूकाे कुर्सी अगाडि हाजिर गराइयो । म साेफामा बसेँ, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई प्लास्टिकको कुर्सीमा बस्न आदेश दिनुभयो । अनि यसपछि कर्मचारीले थर्काउन थाल्नुभयाे मलाई, मैले पाेष्ट गरेकोे विषयलाई लिएर । प्रमुख जिल्ला अधिकारीज्यूले उहाँलाई नै सपाेर्ट गर्दै मलाई सामाजिक सञ्जालमा यस्ता कुरा हाल्न नहुने तपाईंले, मलाई भन्नुपर्ने थियोे भन्नुभयो । मैले आफ्नो याेग्यता र विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक भएको जानकारी पनि गराएँ । कर्मचारीले त मेरो याेग्यता र क्षमताको खिल्ली नै उडाउनुभयाे । जाे चाेर उसैको ठुलाे स्वर भनेझैं गरेर उहाँले मलाई थर्काउन नै खाेज्नुभयाे । मैले तपाईंहरूलाई असजिलो हुन्छ भने म पाेस्ट हटाउँछु भनेँ र तत्काल हटाएँ पनि । मलाई लागिरहेको थियोे, प्रमुख जिल्ला अधिकारीज्यूले मलाई धन्यवाद दिनुहुनेछ । तर त्यसाे भएन, उहाँले आफ्ना कर्मचारीकाे बचाउ गर्नुभयो । उहाँकाे इजलासबाट मुक्त भएपछि म पुनः ७ नम्बरको कक्षबाहिर तातो घाममा लाइन उभिएँ, पालाे आएपछि निर्बाध मेराे कागजमा सम्बन्धित अधिकृतले हस्ताक्षर गर्नुभयो । त्यो लिएर म पुनः सम्बन्धित विभागमा पुगेँ । किन ढिलाे भयो तपाईंको काम ? कर्मचारी साेध्दै हुनुहुन्थ्यो । मैले यी सब कुरा बताइनँ उहाँलाई । उहाँले अन्तिम हस्ताक्षर गरेर मलाई राष्ट्रिय परिचयपत्रकाे अस्थायी निस्सा दिनुभयो । उहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै म खुसी र विस्मात् दुवैलाई अनुभूत गर्दै बाहिरिएँ ।
मैले लाखभन्दा बढी विद्यार्थीलाई पढाएँ जीवनमा । भाषा साहित्यका क्षेत्रमा आजसम्म सेवा याेगदान गर्दै छु । मैले जहिल्यै, भ्रष्टाचार, कामचाेरी प्रवृत्तिका विरुद्ध लेख्दै आएको छु, लेखी पनि रहनेछु । पञ्चायतकालमा अनेकौं अपमान सहनुपर्थ्याे प्रहरी प्रशासनबाट । लाेकतन्त्रमा कर्मचारीतन्त्र यस्तो हुन्छ भन्ने मैले ठानेको थिइनँ । सत्य कुरा सार्वजनिक गर्नु के मैले गरेको अपराध थियोे र ? आज जीवनमा सबैभन्दा नमिठाे अनुभूति गरेको दिन भएको छ मेराे । यसले एउटा महत्त्वपूर्ण लेख जन्माउनेछ अवश्य पनि । मैले फेरि यही स्टाटसका कारण प्रमुख जिल्ला अधिकारीज्यूका सामु हाजिर हुनु पनि पर्ला । तर गलत कुरालाई ढाकछोप गर्न मेरो विवेकले मान्दैन, मेरो नैतिकताले जान्दैन ।