मंसिर २९
पत्रकारिता क्षेत्रको गरिमा जोगाउन आवश्यक रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टले बताउनु भएको छ । पछिल्लो समय नेपाली पत्रकारितामा विश्वसनियतामा ह्रास आएको बताउँदै त्यसलाई जोगाउन आवश्यक रहेको बरिष्ठ उपाध्यक्ष विष्टले बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासीको बाह्रौँ बार्षिक साधारणसभामा संबोधन गर्दै बरिष्ठ उपाध्यक्ष विष्टले छापा माध्यमको अस्तित्व जोगाउन अप्ठेरो हुने स्थिती सिर्जना भएको बताउनुभयो ।
टेलिभिजन क्षेत्रको विज्ञापन बजार पनि घटेकोले पछिल्लो समय मुख्य सञ्चार माध्यम भन्दा सामाजिक सञ्जालहरुमा छिटो सूचना प्रवाह हुने तर, आधिकारिक नहुने गरेको बताउनुभयो ।
बरिष्ठ उपाध्यक्ष विष्टले विसं २०५१ सालमा श्रमजीवी पत्रकार ऐन आएर २०६५ सालबाट मात्रै लागू भएको भएतापनि नेपालको श्रम अभ्यास निकै कमजोर रहेको धारणा राख्नुभएको थियो ।
उहाँले विज्ञापन बोर्ड प्रभावकारी नभएको र ‘क्लिन फिड’को लाभ पनि लिन नसकिएको धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारको सुरक्षा विमा प्रभावकारी रुपमा लागु हुनुपर्ने बताउनुभएको थियो । महासंघका नवलपरासी अध्यक्ष हरी शर्माले महासंघले पुस्तकालय निमार्णको पक्रिया अगाडी बढाएको बताउनुभएको थियो ।
साधारणसभामा दौतरि एफ।एम।का पूर्वस्टेशन म्यानेजर तथा प्रेस सेन्टर नेपाल नवलपरासीका निर्वतमान अध्यक्ष स्व. घनश्याम पोखरेल (राजु) जिवनविमावापतको रकम उहांकी धर्मपत्नीलाई १ लाख रुपैयाँ को चेक हस्तान्तरण समेत गरिएको थियो ।