Jilla Ban Notis

बिरुवा रोपेरमात्र हुदैन ः मन्त्री हमाल

0 31

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१९

बिरुवा रोपेरमात्र नहुने भएकाले त्यसको संरक्षण र संवद्र्धन गर्न स्थानीवासी स्वयम लाग्नु पर्ने लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बताउनु भएको छ ।
आज विश्व माटो दिवसको अवसर पारेर मन्त्रालयले सुनवल–११ जर्गाहमा आयोजना गरेको प्रदेश स्तरिय वृक्षारोपण गोडमेल तथा झाडी सफाई अभियान–२०७८ को समुद्घाटन गर्दै मन्त्री हमालले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री हमालले वन संरक्षण गर्ने र त्यसको उपभोग गर्ने पनि स्थानियवासी नै भएकाले सबै सरोकारवालाहरु मिलेर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका सचिव पशुपति नाथ कोईरालाको अध्यक्षता र मन्त्री सुरेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यतामा भएको उक्त प्रदेश स्तरिय वृक्षारोपण गोडमेल तथा झाडी सफाई अभियान कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ता,जिल्ला सान्वय समिति नवलपरासीका अध्यक्ष शिव शंकर राय,सामुदायिक वन महासंघ नवलपरासीका अध्यक्ष कमल परियार लगाएतको उपस्थिती रहेको थियो ।

नवलपरासीको सुनवल–११ जर्गाहमा रहेको श्रीकोटही देवि सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रमा गत असार १४ गते विश्व वृक्षारोपण दिवसको अवसर पारेर २९.८४ हेक्टर बांझो,खाली र झाडी रहित चौरमा ३९ हजार १ सय ५१ वटा विभिन्न जातका विरुवाहरु रोपिएको थियो ।

अहिले करिव ५ महिना पछि वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले गोडमेल तथा झाडी सफाई अभियानको शुरुवाद गर्नु भएको छ । नेपाल विद्युत प्राधिकरण बर्दघाट–सर्दीको विद्युत् लाईन विस्तारका क्रममा भएको क्षतीपूर्ति वापत नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको करिव ६० लाख रकमवाट उक्त क्षेत्रमा वृक्षारोपण गर्ने,वन हेरालु राख्ने र गोडमेल गर्ने कार्यगरीएको डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताले बताउनु भएको छ ।

एक घण्टामा २० हजार बढी विरुवा रोपेर नेपालमा रेकर्ड कायम गर्न सफल भएको श्रीकोटही देवि सामुदायिक वनक्षेत्रमा लुम्बिनी प्रदेशका तात्कालिन मुख्य मन्त्री शंकर पोखरेलले उक्त वृक्षारोपण कार्यको शुरुवाद गर्नु भएको थियो ।
बांझो,खाली र झाडी रहित चौरमा लगाईएका विरुवाहरु केहि मरेपनि धेरैजसो राम्रो नै रहेको स्थानिय उपभोक्ताहरुको भनाई रहेको छ । सामुदायिक वनहरु वन संरक्षणमा जुटिरहने,विभिन्न सामाजिक संघ–संस्थाहरुले वर्षेनी वृक्षारोपण गरी रहने तर विरुवाको संरक्षणका लागि कहि कतैवाट पनि योजना नभएको अवस्थामा अहिले प्रदेश सरकारले अधिसारेको यो गोडमेल तथा झाडी सफाई अभियान भने प्रभावकारी हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.