Sarawal sit lahar Notis

आइसोलेशन अनुभुति ः रबि पाण्डे

को आफ्नो को बिरानो राम्रै चिनिदो रैछ

0 46

रुघा खोकी लाग्यो

सायद असोज १६ गते राति हुनुपर्छ जिऊमा तापक्रम बृद्धि भएको अनुभुति भयो । त्यति बेला ज्वरो एक सय डिग्री मात्र थियो । अर्काे दिन गोपाल पाण्डे दाईको मेडिकलमा गएर ज्वरो नापियो । त्यसबेला ज्वरो थिएन । सामान्य खोकी थियो । दाईले खोकीको सिरप सहित एन्टीबायोटिक दिनुभयो । ३ दिन जति औषधि खाएपछि निको भए झै भयो । काममा फर्किए । निरन्तर कर्ममा सरिक भए ।
भौतिक दुरी कायम गर्दै पालिकाहरुमा छोटो भेटघाटका कामहरु गरे । दिनभर फिल्डका काम सांझ पत्रिका सेटिङका लागि न्युजका काम निरन्तर जारी नै थियो । असोज २४ गते बिहानै बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्रम रहेकोले त्यहाँ आयोजकको भुमिका गरे । त्यस लगतै राष्ट्रिय युवा संघको कार्यक्रममा छोटो अवधि सरिक भए ।
पुनः असोज मसान्त भन्दा एकदुई दिन अगाडि बाट सामान्य रुघा खोकी लाग्यो । कार्यब्यस्तताले गर्दा थकान भएको होला भन्ने ठाने त्यति ख्यालै गरिन । पालिकाखबरबाट पाएको नयाँ जिम्मेवारीले केही उमंग पनि मनमा थियो । त्यो उमंगलाई ‘बरकरार’ राख्ने काम गरे ।
त्यो संगै आफूले संचालन गरेको पत्रपत्रिका र अनलाइनको लागि फिल्डका काम बढेको बढ्यै थियो । एक दिन एक पालिका पुग्ने र त्यहाँका समाचारलेखन संगै सम्बन्धका नयाँ आयाम थप्दै जाने निधो सहितको दौडधुप बढ्यो ।

ब्यस्तता त्यतिमा सिमित थिएन । निजी जिवनका केही कामहरु हुने नै भए । ‘बिहे गर्ने र घर बनाउने बेला नबढेको ब्यस्तता कहिले बढ्छ’ भन्ने गरिन्छ । घर निर्माणको कामका लागि निर्माण सामाग्रीको जोहो गर्ने , संगै दशै निजिकिदाँ बाख्रा फार्मको थप ब्यवस्थापन र नयाँ खोर निर्माणको योजना पनि बन्यो । ‘ह्वातै कार्यब्यस्तता बृद्धि भएको हुदाँ धपेडीले होला’ भन्ने सोचें । त्यसैपनि बर्षेनी यस मौसमका बेला भइरहने रुघा खोकीले कुनै बर्ष मलाई छाडेन यसबर्ष पनि यस्तै भयो भन्ने लाग्यो । ‘अब तातोपानी पिउनुपर्छ ’ भन्ने श्रीमतीजीको आज्ञा मान्ने निधो गरे । हुन पनि मलाई अचम्म हुन्छ खोकी लागेपछि त्यसले छिट्टै छोड्दैन । बिहे गर्दाको बर्ष २०६६ सालभरि मलाई खोकी लागेको थियो । त्यस्तै मानेर खोकीलाई अति सामान्य रुपमा लिएँ । तर, भौतिक दुरी कायम गर्न कहीं कतै छाडिएन ।
असोज ३० गतेको कुरा हो । ‘सरावल गाउपालिका आउछू ’ भनेर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेललाई फोन गरे । रामग्राम पुगेर आउछू भन्ने सोंचले रामग्राम पुगे मेयर नरेन्द्र कुमार गुप्तासंग छोटो भेटघाट गरे आफ्ना कुरा सुनाए । प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीजी संग सानो भलाकुमारी भयो ।
जिउमा असामान्य रुपमा थकान महसुस भएको थियो । जाँगर फिटिक्कै थिएन । सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी कुनै कार्यक्रममा ब्यस्त हुनुहुन्छ आज भेट हुदैन भन्ने लाग्यो । उहाँको फोन पनि उठेन । सरावल गाउपालिका नगई म अफिस फर्किए । त्यो दिन शुक्रवार पनि थियो ।

अर्काे दिन शनिवार बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरिक्षक समेत रहनुभएका गोपाल पाण्डेयदाई लाई भेटे । आफ्नो समस्या सुनाए । उहाँले ‘भाइरलको सिजन छ । केहीदिन अगाडि लगेको औषधि पक्केै पूरा गर्नुभएन । अब रगत परिक्षण गरेर मात्र औषधि चलाऔं ’ भन्नुभयो । रक्तपरिक्षण पनि भयो । परिक्षणबाट टाईफाईड देखियो । उहाँसंग केही एन्डीबायोटिक औषधि पनि लिए । त्यतिबेला मलाई सामान्य ज्वरो आइरहेको थियो । तर, एक सय भन्दा तल नै ज्वरो थियो ।

कार्तिक २ गते हुनुपर्छ । औषधि प्रयोग गर्ने क्रमसंग बीचमा एकदिन शारिरिक श्रम पनि गरियो । ‘काम गर्न छोडेको धेरै भयो त्यही भएर जिउ दुखेको हो ।’ आमाले त्यही भन्नुभयो । आफूलाई पनि त्यस्तै लाग्यो । मौसम परिर्वतनले होला भन्ने लाग्यो ख्याल गरिएन । औषधिले ज्वरो निको भयो । ज्यान ‘करकर’ दुुखि नै रह्यो । हातखुटटा बाउडिए थाल्यो । शरिरका अंगहरुका ‘सिल्का’ हान्न छोडेन ।
अब त कोरोना परिक्षण गर्नुपर्छ । यही बेलामा सरकारले पीसीआर परिक्षण समेत रोक्यो । कहाँ जाने के गर्ने म अनिर्णयको बन्दी भए । कर्मचारीहरुसंग ३० गतेदेखि नै भौतिक दुरी राखेको थिए । छोरी दिपिका हप्ता दिन अघिदेखि नै आमा संग गएर बसेकी थिइन् । छोरा दिपेशले म संग झगडा गरेर १५ दिन अघिबाट नै मसंग नसुत्ने भइसकेका थिए । उनी मेरो नजिकमै नपरेको धेरै भएको थियो ।
कार्तिक ४ गते पीसीआर भयो । पीसीआर गर्ने समयमै मेरो अनुहार रातो पिरो र रुघाबाट गस्रित भएकोले त्यहाँ ‘ स्वास्थ्यकर्मीले तपाईको पोजेटिभ आउछ’ भनेका थिए ।
त्यस्तै ४ र ५ गते ‘डिस्टेन्स मेन्टेन’ गरेर आइसोलेशनबाटै अफिसियल काम गरे । ६ गते कोरोना पोजिटिभ आयो । अनलाइनका काम घरैबाट गर्न सबै कर्मचारीलाई निर्देशन दिए । साँझ आउने प्राबिधिक कर्मचारीलाई ‘आज नआउनू अब दशै पछि मात्र’ भने । सुरक्षित हुन सबैलाई आवतजावत गर्नेहरु सचेत गराए ।

जब उनले गन्धै थाहा पाइनन् ……

‘ कतै छोराछोरीलाई पनि पोजेटिभ त छैन ’ मनमा त्रास रहेको थियो– मेरो नाकले त गन्ध नै थाहा पाएको छैन । मित्र प्रमोद अर्यालले कोरोना संक्रमण हुदाँ नाकले गन्ध र जिब्रोले स्वाद पाईदैन भनेको सम्झे । मलाई त्यस्तै भएको थियो । लक्ष्मी संग स्वादै छैन गन्ध पनि छैन भने । यतिबेला सम्म म एक्लै नै आइसोलेशनमा थिए । उनले खाना बनाउथिन । ट्वाइलेट बाथरुम र ढोकाका चुकुलहरु मैले प्रयोग गरेपछि सेनीटाइज गर्थे ।

कार्तिक ७ गतेको दिन थियो । श्रीमती लक्ष्मी घिमिरेले भनिन – ‘खोई मेरो नाकले पनि केही थाहा पाए जस्तो लाग्दैन ।’ त्यसपछि मैले अब घरका सबैजनालाई संक्रमण भएको अनुमान लगाए । नगर प्रमुख धीरज शर्मा बस्यालसंग फोन संवाद गरे । कार्तिक ८ गते नेशनल प्याथ ल्याबका दाई लक्ष्मण घिमिरेलाई फोन गरे । ‘ बहिनीहरु पीसीआर गर्न आउदैछन सहजीकरण गर्नूहोला’ भनेर सहयोग मागे । सोही दिन साँझ लक्ष्मीको पोजिटिभ र मुनाको नेगेटिभ नतिजा आएको छ –लक्ष्मणदाईले भन्नुभयो । मुनालाई ज्वरो पनि आइरहेको थियो । त्यसपछि हामी अफिस भएकै ठाँउमा आइसोलेशनमा बस्यौ । मुनालाई ‘कन्ट्रयाक ट्रेसिङ’ गरेपछि अब आमा भाई र बुहारी बस्ने घर, जहाँ हाम्रा छोराछारी पनि छन् त्यहाँ संक्रमण छैन भन्नेमा हामी पुग्यौ । मन अलि हलुंगो पनि भयो ।

कर्म कसैले भुल्नु हुदैन

घरमा आमालाई ढाड दुखाईको समस्याले ग्रसित बनाएको थियो । त्यो उहाँको अलि पुरानै समस्या पनि हो । ‘मेरुदण्डको हाड खिइएको छ । औषधि खाईरहनुपर्छ । फिजिओ गर्नुपर्छ काम छोडनुस है आमा बाख्रा हेर्ने उमेर होइन ’ भनेर डा. राजेन्द्र संजेलले भनेको मलाई आजै पनि ताजै जस्तो लाग्छ । तर आमाले काम नगर्नु भनेको मान्नु भएन । चिसो मौसम पनि लाग्दैछ । दम पनि यही बेला भइरहन्छ । उहाँ त उठ्न पनि नसक्ने अवस्थामा पो पुग्नुभएछ । हात समाएर उठाउने सुताउने आमाको अवस्था भयो । भाईलाई हामी आइसोलेशनमा हुदाँ कष्ट भयो भन्ने चिन्ताले हामीलाई पिरोल्यो ।
आमाको ढाडको एक्स रे गरेर के अवस्था छ ? यकीन गरेर औषधि गर्न भाईलाई अह्राए । उसले पनि सकेसम्मका अस्पताल र मेडिकल दौडाएकै हो । जहाँ गएपनि नदुख्ने औषधि दिएर उसलाई पठाइदिने रहेछन् । त्यसले एकछिन त काम गर्दाे रैछ । डोज खत्तम दुखाई उही । आमा आतिएर भन्नु हुदो रैछ ‘ मलाई कही लगेनन् । अलि ठाँउमा लगे हुन्थ्यो’।

‘टाढा अस्पताल लगेपनि डाक्टरले हेर्दैनन । तपाईलाई चिसो पनि भएजस्तो छ । टाढा गए झन रोग थपिने पो हो कि ’ भनेर सम्झाए आमा मान्न तयार हुनुभएन ।
बर्दघाट नगरमा भएका सरकारी, नीजि र सामुदायिक सबै अस्पताल÷मेडिकल पठाईयो । तर कोही कसैले एक्स रे गर्न मानेनन् । नयाँ नयाँ बहाना बनाए । स्वास्थ्यकर्मीले नदुख्ने औषधि त भिडाए । ‘ ए आमाको ढाड दुख्ने पुरानै समस्या हो औषधि खाए हुन्छ ’ भनेर पनि टारे । औषधि र भिटामिन बेचे । एक्सरे नभएकाहरुलाई केही भन्नुछैन । अझ एक्स रे मेसिन भएकाहरुले पनि निकै बहानाबाजी गरे । त्यसबाट हामी आइसोलेशनमा बसेकालाई थप पीडा दियो ।

हिजो सम्म एक कल फोनमा आग्रह मान्नेहरुले कोरोना कहरका बेला गरेको बहानाबाजी मैले राम्ररी मस्तिष्कमा राख्न बाध्य भएको छू । ‘म आफै फोन गर्दा पठाइदिनुस डाक्टर पनि छन् एक्सरे पनि हुन्छ ’ भन्नेले पनि त्यहाँ गएपछि ‘एक्सरे बिग्रिएको दुई बर्ष भएको रैछ मैले बिर्सेछू भनेर औषधि थमाएर’ पठाउदाँ हामी आइसोलेशनमा बसेको दम्पतीलाई थप दुखाई भयो ।
त्यति मात्र नभएर एक्सरे लागि रसिद काटेर पनि पैसा फिर्ता गरेछन । एक्सरे गरिदिएनन । स्वास्थ्य क्षेत्रका यी मनुवाहरुको प्रबृतिले मलाई निकै घोचेको छ । यसको अर्थ सबै त्यस्तै छन् भन्ने पनि होइन । कर्म बिर्सनेहरुले पेशा छोडनुपर्छ । यहाँ महामारीमा कर्म गर्नेहरु धेरै छन् । तिनीहरुलाई प्रेरित गर्नुपर्छ । यहाँ कलिला उमेरका फ्रन्टलाइनर छन । जो एसल्टको भुमिका खेलिरहेछन् । उनीहरुलाई अगुवाहरुको यो प्रबृति देख्दाँ निरुत्साहन हुदो हो । तर रमेश भाइले हामी आइशोलेशनमा हुदाँ दायित्व पूरा गर्न लागिरह्यो ।

अन्त्यमा
दशै खल्लो भयो । परिवारसंग संगै खान बस्न र रमाउन पनि पाइएन । एकान्तबासमा दम्पती नै भएकोले हामीलाई त्यति गाह्रो भएन । आमा र भाईले ल्याएको च्याङग्राको मासुको झोल मूलाको सुकुटीको निकै खायौ । तल्लो तलामा हामी भएकै घरमा बस्ने लालुदाइले भ¥याङमा ल्याएर दिएको गुर्जाे बोझो पनि खादै छौ । एक छाक बाहेक सबै छाक भान्सामै तयार बनाएर खायौ ।
फिल्म र सामाजिक संजाल पनि हेरियो । राजनैतिक वैचारिक एंव प्रेस काउन्सिलबाट झबिन्द्र भुसालसरबाट प्राप्त ३ वटा पुस्तक अध्ययन भयो । सिर्जनात्मक काममा लागिरहेको मानसिक रुपमा भएका पीडा कम हुदै गयो ।
समाचार तथा फिचर लेखनका एंगलहरु नयाँ र तिख्खर बनाइयो । धेरै शुभेच्छुकहरुका शिघ्र स्वास्थ्यको कामनाबाट धेरै प्रोत्साहन मिल्यो । आज मेरो पीसीआर नेगेटिभ आयो । उनलाई पनि सन्चो हुदैछ । आईसोलेशनमा बस्दाँ एउटा कुरा जानियो बुझियो ‘ आफ्नो को बिरानो राम्रै चिनिदो रैछ । धन्यवाद ।

Leave A Reply

Your email address will not be published.