Holi care school

लघुकथा ः स्वास्थ्य परीक्षक

देवेन्द्र घिमिरे(कपिलबन्धु)

34

लघुकथा ः स्वास्थ्य परीक्षक                                          देवेन्द्र घिमिरे(कपिलबन्धु)

“खुब निन्द्रा लाग्छ ?”   कानमा आवाज आयो ।
आवाज अनौठो थियो र टाढैबाट आएजस्तो थियो । अचम्म मानेर सोधेँ, “तपाईँ को बोल्नुभएको हो ?”
उसले भन्यो, “म प्रकृति हुँ, अहिले म स्वास्थ्य परीक्षकको भूमिकामा छु ।”
‘प्रकृति ! स्वास्थ्य परीक्षक !’ म अलमलमा परेँ ।
म अलमलिएको थाहा पाएर हो की उसले भन्यो, “मान्छेसँग अनुमति लिएर स्वास्थ्य परीक्षण गर्छु ।”
“के के कुरा जाँच्नुु हुन्छ ?” प्रष्ट पार्न भनेँ ।
“फोक्सो, कलेजो, अन्य कोसिकाहरूको अवस्था हेरेर बाँच्नेहरूको लगत खडा गर्छु ।” उसले भन्यो ।
“सरकारी अभियान हो कि कुनै संस्थाको कार्यक्रम हो ?” मैले फेरि सोधेँ ।
हल्का हाँस्दै उसले भन्यो, “यो सरकारी पनि हैन र कुनै संस्थाको तर्फदेखि पनि हैन । यो त प्रकृतिको नियम हो । म त्यही काम गर्दै छु ।”
म केही बोल्नै सकिनँ । उसैले भन्यो, “हिजोआज मानिसहरु कृत्रिम हुन थाले । यिनीहरुको खानपान पनि अस्वभाविक र कृत्रिम हुन थाल्यो । औषधीय गुण भएका खाद्यपदार्थ खान छोडे । जति भोकाए पनि हात्तीले मासु र बाघले घाँस खाँदैन । तर मान्छेले सबै कुरा खान्छन् ।”
मेरो मुखबाट अनायास शब्द आयो, “हजुर !”
उसले अगाडि भन्यो, “त्यसैले मानिसहरुलाई अनेकौँ रोगले घेर्दै आइरहेको छ । बिमारी हुने गरेका छन् । यही कुरा जाँच्न आएको हुँ म । को कति स्वस्थ छ भन्ने कुरा पत्ता लगाउनु नै मेरो मुख्य काम हो । जो शक्तिशाली छ त्यो यहीँ बस्छ, जो कमजोर छ ऊ मसँग जान्छ ।”
उसका कुरा झन्पछि झन् अनौठा थिए । मलाई खसखस लाग्यो र सोधेँ, “साच्चै भन्नुस् त तपाईँ को हो ?”
“मान्छेले मलाई कोरोना भाइरसका नामले चिन्छन् !” उसले भन्यो ।

(८ असाढ २०७७)