उमेश बि.क
सरावल ,जेष्ठ–३०
नवलपरासीको सरावल गाउंपालिकाद्वारा कृषक समुहलाई कृषि उपकरण वितरण गरेको छ । किसानहरुको सिचाईको व्यवस्था तथा कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागी गाउंपालिकाले कृषि उपकरण वितरण गरेको हो । सिचांई गर्नको लागी १० कृषक समुहको आवेदन परेकोमा १० वटै समृहलाई प्रोत्साहन अनुदान अन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिएको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पौडेलले जानकारी दिनुभएको छ ।
१ वटा समुहलाई १ थान पम्प सेट, चकबाल, सेक्सन पाईप र डेलेभारी पाइप लगायतको समाग्री वितरण गरिएको छ । कृषि उपकरण अन्तर्गत पम्पसेट हस्तान्तरण गर्दै गाउंपालिका अध्यक्ष राधेश्याम चौधरीले किसानहरुलाई कृषि यन्त्रसहित नयां आधुनिकिकरणमा लैजानु पर्ने आवश्यक रहेको बताएका छन् । त्यसैगरी किसानहरुले यस कृषि उपकरणहरु बाट ३० देखि ४० बिग्हा जमिन खेति गर्न सकिने बताउनु भयो । पम्पसेटबाट धान, गहुं तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने भएकोले पालिकाले अन्य दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । किसानहरु आफूले पम्पसेट पाउदा खुशि ब्यक्त गर्दै सिंचाईको समस्यामा रहेका सबै कृषकहरुलाई गाउंपालिकाले यसरी सहयोग गरेमा कृषि उत्पादन राम्रो हुने बताएका छन।