Jilla Ban Notis

तिलोत्तमालाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता ।

0 39

तिलोत्तमा, मंसिर २८

सरोकारवालाहरुले तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै २०७७ जेठ ३० मा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धतामा उनीहरुले हस्ताक्षर गरेका हुन् । शनिबार सम्पन्न दुई दिने अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, विभिन्न संघ–संस्था, सेवाप्रदायक कार्यालय, बाल क्लवका प्रतिनिधि लगायत सरोकारवालाहरुले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिनुभयो । सहभागीहरुले बालअधिकार सुनिश्चितताको लागि बालबालिकालाई केन्द्रमा राखी कार्य गर्ने सहमति जनाएका छन् । अभिमुखी कार्यक्रमबाट बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति–२०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ र घोषणा कार्यविधि–२०७० बमोजिमका सूचक तथा मापदण्ड पूरा गर्न कार्ययोजना निर्माण गरिएको छ । कार्ययोजनामा सूचक तथा मापदण्ड पूरा गर्न विद्यालय, समुदाय, वडा, नगर तहबाट गरिने कार्यविवरण उल्लेख छ । नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमामा बालमैत्री स्थानीय शासनका अधिकांश न्यूनतम सेवा सूचकहरु पूरा भैसकेका र बाँकी सूचकहरु पूरा गरी तोकिएकै समयमा बालमैत्री नगरपालिका घोषणा गरिने बताउनुभयो । यसका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न उहाँले सबै नगरबासीलाई आग्रह गर्नुभयो । बालमैत्री स्थानीय शासन; बालअधिकार सम्बन्धी समग्र पक्ष (बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता) को प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो । यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ । नेपालमा स्थानीय तहको पुनःसंरचनापछि चार वटा स्थानीय तह बालमैत्री स्थानीय तह घोषणा भएका छन् । वडागत हिसाबले ३० वटा वडाहरु बालमैत्री घोषणा भएको प्रशिक्षक शर्मिला पौडेलले जानकारी दिनुभयो ।“बालमैत्री स्थानीय तह” भन्नाले अर्थपूर्ण बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरी सम्बन्धित सभाबाट बालमैत्री स्थानीय तह भनी घोषणा गरिएको गाउँपालिका र नगरपालिकालाई जनाउँछ ।

Leave A Reply

Your email address will not be published.