Sarawal sit lahar Notis

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बन्द भएपछि बचतकर्ता त्रासमा

0 116

रवि पाण्डेय

बर्दघाट -फागुन–१२
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका देशैभरका शाखाहरुमा परेको समस्या बर्दघाट शाखामा समेत देखिन थालेको छ ।
बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले यहाँको शाखा कार्यालय नै बुधवारबाट बन्द गरेको छ । बर्दघाट–४ शिवकोलोनीमा रहेको संस्थाको मार्ट बन्द गरिएपछि बचत कर्ताहरुमा त्रास फैलिएको हो ।

बचतकर्ताले आफ्नो बचत सुरक्षित हुनुपर्ने माग गर्दै बर्दघाट नगरपालिका, ईलाका प्रहरी कार्यालय बर्दघाट लगायतका सरोकारवालाहरुसंग हारगुहार गर्दै आएका छन् । बर्दघाट–४ का एक बचतकर्ताले आफूले संस्थामा दुई लाख भन्दा बढी रुपैया बचत गरेकोले बचत फिर्ता पाइने नपाइने भन्ने कुराले पिरोल्न थालेको बताए । साना बचतकर्ता देखि ठुला बचत कर्ता सम्मले बचत फिर्ता माग्न थालेपछि संस्था बन्द भएको हो ।

चार हजार रुपैया बचत गरेका एक बचतकर्ताले दिउँसोको खाजा कटाएर गरेको बचत समेत डुब्ने हो कि भन्ने त्रासमा रहेको जानकारी दिए । यहाँको शाखाले २ हजार ५ सय बचतकर्ताबाट १ करोड ६० लाख बढी निक्षेप संकलन गरेको बचतकर्ताहरु बताउछन् ।
संस्थाका निमित्त ब्यवस्थापक खिमानन्द पाण्डेले बचत फिर्ता माग्नेहरु बढेपछि केही समयलाई कार्यालय बन्द गरेको दावी गर्नुभयो । कार्यालय संचालन गर्न समेत शान्ति सुरक्षा लगायतका बिभिन्न समस्या रहेकाले केही दिन पछि शाखा संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।
यहाँको शाखा कार्यालयमा २ करोड बढीको सम्पति तथा मौज्दात रहेकोले बचतकर्ता आतिनु नपर्ने पाण्डेको जिकिर थियो ।

Leave A Reply

Your email address will not be published.