कृष्ण ढकाल
बर्दघाट,असार–२३
बर्दघाट–४ मा रहेको पारिजात सामुदायिक वनक्षेत्र निर्माण गर्न लागिएको पर्या–पर्यटन पार्क परिसरमा आज वृक्षारोपण कार्य सम्पन्न भएको छ । पार्कलाई सौन्दरीकरण गर्ने र हरियाली प्रर्वद्धनमा जोडदिने वन समुहको निति अनुसार आज वृक्षारोपण कार्य गरीएको पारिजात सामुदायिक वन समुहका अध्यक्ष कमान सिंह थापाले बताउनु भएको छ ।
पारिजात सामुदायिक वनले बर्दघाट नगरको पर्यटन प्रर्वद्धन र आर्थिक समृद्धि र रोजगारीलाई समेत टेवापुग्नेगरी आफ्नो दिगो आम्दानीको स्रोतका रुपमा निमार्ण गर्न लागेको पर्या–पर्यटन पार्क परिसरमा सल्लो लगाएतका विभिन्न जातका बोटविरुवाहरु रोप्न बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ लगाएत,बिभिन्न सामाजिक संघ संस्था,आमा समुह तथा प्रहरीहरुको समेत सहभागिता रहेको थियो ।
वृक्षारोपण शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले पछिल्लो समय बर्दघाट नगरपालिकाले नगर भित्र रहेका पर्यटकिय स्थलहरुको संरक्षण प्रवर्द्धन र सौन्दर्यीकरणका लागि बृक्षारोपण र सरसफाई कार्यलाई निरन्तरता दिएको बताउनु भयो । नगरप्रमुखका १२ अभियान अन्तर्गत नगरका बिभिन्न स्थानमा रहेका पर्यटकिय स्थलहरुको लागि आवश्यकताका आधारमा सक्दो बजेट बिनियोजन गरिएको समेत बताउनु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै पारिजात सामुदायिक वनका अध्यक्ष कमान सिंह थापाले पारिजात वनको पर्या–पर्यटन पार्कमा अहिले स्थानियहरु मर्निङ वाक सहित मनोरञ्जनका लागि आउनेक्रम बढेर गरेकाले पार्कको प्रवर्द्धनका लागि तिनै तहका सरकारले सक्दो लगानी गर्नु पर्नेमा जोड दिनु भएको थियो।