Jado Notish Bardaghat

शिक्षा र पर्यटन ः युबराज कंडेल

0 211

जीवन र जगतलाई चिन्ने र त्यसैको आधारमा सहज जीवनको बाटो पहिल्याउने माध्यम नै शिक्षा हो । जीवन र जगतलाई चिन्ने बुझ्ने सबै भन्दा राम्रो उपाय घुमघाम भन्दा अरु केहि हुन सक्दैन । घुमघाम वा भ्रमण गर्नु मनोरंजन लिनुस मात्र होईन, यस्तो कार्य बाट धेरै किसिमका ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाईन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र
सम्भावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न घुमघाम बाटै सम्भव छ । त्यसैले भ्रमणलाई खुल्ला विस्व बिद्यालय पनि भन्ने गरिन्छ । पछिल्लो समयमा पर्यटन बाट शिक्षा र शिक्षा बाट पर्यटन दुवै लाई निकै महत्व दिन थालिएको छ ।

शिक्षाको लागी पर्यटन

पढ्नु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सुत्रहरु स्मरण गर्नु होईन । जीवन र जगतलाई बुझेर त्यसै अनुरुप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्धेस्य हो । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न कदापी सकिदैन ।
खासगरी प्राकृतिक स्रोत, भौगोलिक अध्ययन, मानव विकास अध्ययन, सामाजिक—आर्थिक पक्षको अध्ययन संग सम्बन्धित विषयवस्तुहरुको यथार्थ ज्ञान लिन सम्बन्धित क्षेत्रहरुको भ्रमण गर्नै पर्ने हुन्छ ।
इलामको चियाबारीको हरियाली, ताप्लेजङ्ग संगको लालीगुराँसको लालिमा, भोटेकोशीको तीव्रता, अन्नपुर्णको हिउँको टलक,रारातालको पानीको निर्मलता र शुक्लाफाँटामा बाह्रसिंगाहरुको उफ्राई महसुस गर्न देखी बिराटनगरमा ओरालो लागेको औद्योगीकरण , सुस्तामा खुम्चिएको सिमाना र टनकपुरमा ठगिएको नेपाल हेर्न कक्षा कोठाको पढाई र कितावी अध्ययनले सकिदैन, ति ठाउमा पुगेर हेर्ने पर्छ ।
अनुसन्धान तहको शिक्षामा भ्रमण अनिवार्य भएपनि बिद्यालय र क्याम्पस तहमा भ्रमणलाई अध्ययन र सिकाईको अंगको रुपमा लिने गरिएको छैन । नर्सरी देखी स्नातकोत्तरसम्मका बिध्यर्थिहरुमा भ्रमण गनु भनेको मनोरंजन गर्नु भन्ने भ्रम रहेको पाईन्छ । घुमाई बाटै सिक्न सकिन्छ भन्ने कुराको ज्ञान नभएको कारणले गर्दा भ्रमणलई बिद्यार्थिहरुले मुड फ्रेस गर्ने बहाना,
शिक्षकहरुले औपचारिकता निर्वाह र अभिभावकहरुले अनावस्यक आर्थिक बोझ मात्र ठान्ने गरेका छन् । केहि शैक्षिक संस्थाहरुले शैक्षिक भ्रमणको कार्यक्रम बनाएर बिद्यार्थिहरुलाई घुमाउने गरेका छन् तर यस्तो घुमाई व्यवस्थित नभएको हुनाले भ्रमण बाट हुने महत्वपूर्ण उपलब्धि हासिल गर्न बाट बिध्यार्थीहरु ( र शिक्षकहरु समेत ) बन्चित भैरहेका छन् । अहिले विद्यालय तहमा हरेक विषयमा २५ देखि ५० प्रतिशत अंक आन्तरिक मूल्यांकनको लागि छुट्याईएको छ । विषयवस्तु अनुसार विद्यार्थीहरुलाई अवलोकन भ्रमणमा लैजानुपर्ने व्यवस्था पाठ्यक्रमले

गरेको छ । कक्षा १२ सम्म सामाजिक शिक्षा अनिवार्य गरिएको छ र यो विषयको शिक्षा दिनको लागि विद्यार्थीहरुलाई भ्रमणमा लैजानु सबैभन्दा राम्रो उपाय हो । तर अधिकांश शिक्षक र विद्यालयहरुले विद्यार्थीहरुलाई कुनै पनि ठाउँमा नलगी कक्षा कोठामा पुस्तक घोक्न लगाएर र शिक्षकले वर्णन गरेर देश र जगतलाई चिनाउने प्रयास गरिरहेका छन् । यस्तो कार्यले विद्यार्थीहरु आफ्नै देश, यहाँको सस्कार र सस्कृति, जैविक तथा भौगोलिक विविधता सिक्नबाट बन्चित भैरहेका छन् । भ्रमण गर्नु शिक्षक र बिद्यार्र्थी दुबैको लागी अत्यावस्यक छ ।

विषयवस्तुको गहिराइमा पुग्नको लागी प्रत्यक्ष अवलोकन र अनुभवको आवस्यकता पर्छ, जुन कुरा बिद्यार्थिहरुले भ्रमण बाटै हासिल गर्न सक्छन् । अहिले भैरहवाको विद्यार्र्थीले
ल्ुम्बिनीको बारेमा लेख्नु पर्दा गाइडको सहयोग लिनुपर्ने, गुल्मीको विद्यार्थीले धार्मिक स्थलको बर्णन गर्नु पर्दा कनिकुथी पशुपतिनाथ वा जनकपुरको वर्णन गर्न खोज्नु, बुटवलको बिद्यार्र्थी पोखरा वा धनुटा नगएर नैनिताल र दार्जिलिंग जान चाहनु भनेको भ्रमणलाई शैक्षिक कार्यक्रम भित्र समावेस नगर्नुले नै हो । बिद्यार्र्थीहरुलाई समाज , संस्कृती, वातावरण , विकास का साथै देशका चुनौती र सम्भावना संबन्धि वास्तविक ज्ञान दिनको लागी बिद्यार्थिहरुलाई स्थलगत भ्रमण राम्रो हुन्छ । हरेक बिद्यालयले आफ्ना बिद्यार्थिहरुलाई भ्रमण गराउने कार्यक्रमलाई पठनपाठन भित्रै समावेश गरेमा बिद्यार्थिहरुले छोटो समयमै आफ्नो समाज र देशलाई चिन्न , विभिन्न समाज र संस्कृतिको अनुभव गर्नर त्यसप्रति सकारात्मक धारणा बनाउन मद्दत पुग्नेछ । त्यसै गरि शिक्षकहरुले भ्रमण गर्दा उनीहरुले विभिन्न ठाँउका सिकाइका नयाँ प्रयोगहरु सिक्न, विषयवस्तुको ज्ञानलाई विस्तृत गर्न र शैक्षिक सामाग्रीहरु संकलन गर्न मद्दत पुग्छ ।समस्याहरुको जानकारी लिन र आफ्ना पुराना बिद्यार्र्थीहरुको सफलता एव असफलताहरु पहिचान गर्न शिक्षकले भ्रमण गर्नु राम्रो हुन्छ । शिक्षकले नयाँ कुरा सिक्ने र नयाँ ठाउँको भ्रमणले उसमा स्फुर्ति आउने भएकाले बिभिन्न देशहरुमा सरकारी स्तर बाटै शिक्षकलाई भ्रमण गर्ने व्यवस्था समेत गरिएको पाइन्छ ।

पर्यटनको लागी शिक्षा

औद्योगीकरण नभएको र बाह्य व्यापार घाटा भैरहने नेपाल जस्तो देशको लागी आर्थिक विकासको मुख्य आधार भनेकै पर्यटन हो । नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनि त्यसलाई विकास र विस्तार गर्ने खालको शिक्षा नेपालमा अहिले सम्म दिन सकिएको छैन । बिद्यालय तहमा पर्यटन सम्बन्धि पाठ्यक्रम नै छैन । सामाजिक अध्ययन, वातावरण शिक्षा, अर्थशास्त्र जस्ता बिषयहरुमा पर्यटन सम्बन्धि सामान्य जानकारी समावेस गरिएको भएपनि कुन क्षेत्रमा कस्तो पर्यटकीय सम्भावना रहेको छ भन्ने जानकारी दिने, पर्यटकीय सम्भावनाहरुको खोजी गर्न सिकाउने, पर्यटकीय सेवाको विकास गर्ने र पर्यटक मैत्री संस्कृतिको विकास गर्ने सम्बन्धि आधारभुत कुराहरु पनि बिद्यालय तहका बिद्यार्थिहरुलाई सिकाउने पाठ्यक्रम नै नेपालमा छैन । उच्च माध्यमिक तहमा ट्राभल एण्ड टुरिज्म बिषय समावेश त गरिएको छ, तर यो बिषय पुर्ण सैद्धान्तिक र अपुरो छ । बिस्व बिद्यालय तहमा पर्यटन सम्बन्धि पाठ्यक्रम भएपनि यो बिषय पढाई हुने कलेजहरू काठमाडौँ र पोखरामा मात्र सिमित भएकाले पर्यटन शिक्षा सर्वसाधारण मानिसको पहुसँच भन्दा बाहिर छ ।

नेपालमा पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपलिहरुलाई पर्यटक नै नठान्ने प्रवृति ब्याप्त हुसनुको कारण पर्यटन शिक्षाको कमि नै हो । नेपालमा पर्यटनबाट लाभ लिनको लागी पर्यटनमैत्री समाज र संस्कृतिको विकास गर्नु पर्छ । यसका लागी बिद्यालय र बिस्व बिद्यालयका हरेक तहमा पर्यटन शिक्षालई अनिवार्य बनाउनु पर्छ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार,पथप्रदर्शन, होटेल व्यवस्थापन, पर्यटन व्यापार, ट्राभल एजेन्सी संचालन
सम्बन्धि ज्ञान दिने व्यवस्था मिलाउन७३घढस पर्छ । नेपालीहरुलाई आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र आन्तरिक पर्यटकहरुलाई पनि बिदेशी पर्यटक सरह सम्मान गर्ने प्रवृतिको विकास गर्न सकियो भने ८/१० लाख पर्यटकको लागी बिदेशीहरुको मुख ताक्नु नै पर्ने छैन ।

अन्त्यमा,

चाडबाडको मौसम शुरु भएको छ । तीजमा केहिदिन शैक्षिक सस्थाहरु विदा भएका छन । घटस्थापनापछी छठसम्म धेरैजसो शैक्षिक सस्थाहरुमा लामो बिदा हुने गर्छ. यो समय विद्यार्थी, शिक्षक र अभिभावकहरुको लागि भ्रमण गर्ने उपयुक्त समय हो ।
धेरै टाढा जान नसके पनि आफ्नै गाउँघर, जिल्ला र नजिकको महत्वपूर्ण स्थलमा घुम्न सकियो भने धेरै कुरा देख्न, जान्न सकिन्छ । नयाँ ठाउँ, नयाँ प्रकृति र नयाँ वातावरणको भ्रमणले ज्ञानको विस्तार हुनुको साथै शरीरमा ताजापन पनि आउँछ । छुट्टी भित्रको केहि समय घुमघामको लागी निकालौं र बिदालाई स्मरणीय बनाउँ ।

✍️ युबराज कंडेल

[email protected]

Leave A Reply

Your email address will not be published.