Sarawal sit lahar Notis

शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक अनावरण

0 72

बर्दघाट,पौष १९
बर्दघाट नगरपालिका वडा नं. १४ मा रहेको शहिद स्मृति अस्पताल परिसरमा शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक अनावरण गरिएको छ । सलिमको २० औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा जनमुक्ति सेनाका पूर्व डिभिजन सह कमाण्डर उदय बहादुर चलाउने ( दीपक )ले शालिक अनावरण गर्नु भएको हो ।

शहिदस्मृति सामुदायिक अस्पताल विकास केन्द्रको प्रांगणमा एक समारोहबीच शालिक अनावरण गरिएको थियो । सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्तीले जनयुद्धका शहिदहरुको स्मृतिमा बिभिन्न कार्यक्रम गर्ने संस्थाको योजना अनुसार जनयुद्धका शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक अनावरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सहकमाण्डर समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने दीपकले देशमा ब्यवस्था अझै नबदलिएको बताउनु भएको थियो । उहाँले देशमा राजनीतिको अधिरचना बदलिएको तर ब्यवस्था भने पुजीवादी नै रहेका कारण अवस्था नबदलिएको बताउनु भएको थियो । जनगणतन्त्र हुदै बैज्ञानिक समाजवादका लागि संर्घषको आवश्यकता रहेको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संबिद्यानसभा सदस्य सीता वौडेलले शहिद सलीमसंगको सहकार्यको चर्चा गर्दै शहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको थियो । त्यस्तै नेसपाका नेता तथा संबिद्यान सभा सदस्य चिनक कुर्मीले माओवादीहरु तिररवितर भएर शहिदका सपना पूरा गर्न नसकिने बताउनु भयो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक लम्सालले संसदीय ब्यवस्थाको अन्त्य नगरे सम्म जनताले मुक्ति नपाउने बताउनु भएको थियो ।
पोलिटब्युरो सदस्य किशन शर्मा गैरे, केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद चापागाईले माओवादी आन्दोलन क्षतबिक्षत भएकोले सबै एक ठाँउमा आउनुपर्ने विचार राख्नु भयो । नेकपाका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज बसन्त श्रेष्ठले संसदीय ब्यवस्थाको खारेजीका लागि सबै घटकहरुले आन्दोलन थाल्नुपर्ने औल्याउनु भएको थियो ।
त्यस्तै बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले शहिदहरुलाई सम्झने गरेर कार्यक्रम ल्याएको बताउदै शहिदहरु राष्ट्रकै गहनाका रुपमा रहेको बताउनु भएको थियो ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य देबेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारी, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज पोखरेललगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, चिसापानी अस्पतालका अध्यक्ष ईन्द्र प्रसाद सापकोटा, बाल्मिकी माविकी प्रधानाध्यापक रामकुमारी पाध्या, शहिद परिवारको तर्फबाट खीमा रिजाल लगायतले शुभकामना मन्तब्य राख्दै शहिदको सपना पुरा गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी, प्रदेश संयोजक श्याम बहादुर बोहोरा, तिलक पुन, बामपन्थी नेता धर्म केसी, सलीमकी आमा मीन कुमारी थापालगायत बिभिन्न राजनैतिक दलमा प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष उषा केसीको अध्यक्षता , सचिव उर्मिला थापाको संचालन, सविता लामाको स्वागतमा भएको थियो । बि.स.२०६० पौष १९ गते चितवनको जलबीरेमा बिग्रेड कमाण्डर सलिमले ज्यान गुमाएका थिए ।

Leave A Reply

Your email address will not be published.