Jilla Ban Notis

लुम्बिनी प्रदेश सरकारले दिएको कृषि अनुदानको गाडी दुरुपयोग ।

0 17

परासी, २६ मंसिर

लुम्बिनी प्रदेश सरकारले  दिएको कृषि अनुदानको गाडी दुरुपयोग  भएको छ । प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कृषि, पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ ढुवानीका लागि दिएको गाडी अहिले नवलपरासीको परासीमा रहेको एक पानी उद्योगले पानीको जार ढुवानी कार्यमा प्रयोग भएको भेटिएको छ ।

रुपन्देहीको रोहीणी–७ स्थित कदम महिला कृषि सहकारी संस्था लिमिटेडलाई दिएको सो अनुदानको गाडी यसरी दुरुपयोग भएको पाईएको छ । प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले कृषि, पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ ढुवानीका लागि उक्त सहकरीलाई अनुदानमा गाडी दिएको थियो ।

कृषि कार्यमा प्रयोग हुनुपर्ने अनुदानको गाडीले अहिले नवलपरासीको पाल्हीनन्दन गाउंपालिकाको लोहरौलीमा रहेको सुनिल गुप्ताको पानी उद्योगको पानी ओसारपसार गरिरहेको गाडी चालक पवन गुप्ताले बताउनुभयो ।

अनुदानको गाडी यसरी दुरुपयोग गर्ने गराउनेलाई कारवाही हुनुपर्ने माग उठेको छ । एउटा प्रयोजनका लागि ल्याएको सवारी साधन अर्काे प्रयोजनमा प्रयोग गर्न नपाईने कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेश कुमार मिश्रले बताउनुभयो ।

“कृषिजन्य पदार्थको ढुवानीका लागि दिईएको सवारीमा विक्री गर्ने पानी बोक्नु दुरुपयोग हो, यसबारेमा मैले बुझ्दैछु,” उहाँले भन्नुभयो । आव २०७५÷०७६ मा प्रदेश सरकारको रु दश लाख अनुदान सहयोग र सहकारीको रु ११ लाख ९५ हजारको लगानीमा उक्त गाडी खरिद गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.