Jilla Ban Notis

तिलोत्तमामा रनिङशिल्ङ्ग प्रतियोगिता सुरु ।

0 18

वि.पि.गौतम
तिलोत्तमा, माघ २६
तिलोत्तमा नगरपालिकामा आईतबारबाट प्रथम नगरस्तरीय रनिङशिल्ङ्ग छनौट प्रतियोगिता–२०७६ सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने नगर खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।  तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३७ विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।
आइतबार भव्य कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गर्नुभयो । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाका सबै खेलमैदानलाई स्तरोन्नती गरिने बताउनुभयो ।
खेलकुदले अनुशासनको विकास गराउने भएकोले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा उहाँको जोड छ । फरक प्रसंगमा नगर प्रमुख घिमिरेले शुन्य खुला पोलिथिन अभियानमा नगरबासीले देखाउनु भएको उत्साहप्रति आभार व्यक्त गर्दै पोलिथिनजन्य फोहरलाई जथाभावी फाल्नेलाई कारवाही गरिने स्पष्ट पार्नुभयो ।  प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुनेगरी तालिका बनाइएको आयोजकले जनाएका छन् । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका सदस्य दीपक खनालले बताउनुभयो । यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शटफुटलगायतका प्रतियोगिताहरु हुने छन् । यसैगरी भलिबल, कबड्डीलगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । सबै प्रतियोगिता सिद्धार्थ खेलमैदानमै हुने समिति सदस्य सचिव शारदा भट्टराईले बताउनुभयो । कार्यक्रम उद्घाटनको अवसरमा विद्यार्थीहरुले खेलकुद तथा गीतसंगति र नृत्यका विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.