Jilla Ban Notis

औषधी व्यवसायी संघ नवलपरासीमा नयाँ नेतृत्व चयन, अवैध औषधी पसल बन्द गर्न माग

0 61

चैत ११
नेपाल औषधी व्यवसायी संघ पश्चिम नवलपरासी शाखाको अध्यक्षमा डा.हेमन्तराज न्यौपाने चयन हुनुभएको छ । संघको आज भूमहीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा निर्विरोध नयाँ जिल्ला कार्य समिति चयन भएको हो ।
संघको नवगठित जिल्ला कार्य समितिको निवर्तमान अध्यक्षमा रामचन्द्र पौडेल,उपाध्यक्षमा राजकुमार चौधरी, महासचिवमा बाबुराम तिमिल्सिना, सचिवमा कमलेश चौधरी, कोषाध्यक्षमा अवधेस यादव, सहकोषाध्यक्षमा अन्जनी श्रेष्ठ तथा सदस्यहरुमा धर्मेन्द्र यादव, दीपक ज्ञवाली, मुन्द्रिका चौधरी निर्वाचित हुनुभएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल औषधी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी व्यवसाय संवेनशील व्यवसाय भएकोले व्यवस्थित र मर्यादीत रुपमा व्यवसाय गर्न आग्रह गर्नुभयो । संगठित, व्यवस्थित र मर्यादीत व्यवसाय अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले दर्ता बिनै अवैद्य रुपमा सञ्चालन भईरहेका औषधी व्यवसाय राज्यले बन्द गर्नुपर्ने माग गर्नुभयो । योग्यता नपुगेका र दर्ता तथा अनुमति विबै सञ्चालनमा रहेका औषधी व्यवसायको संरक्षण संघले नगर्ने भन्दै उहाँले त्यस्ता व्यवसायको अवैद्य क्रियाकलाप नियन्त्रण गर्न राज्यलाई संघले पनि सहयोग गर्ने बताउनुभयो ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीले औषधी व्यवसायीको हकहितका लागि संघ निरन्तर लडिरहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य बीमाका कारण औषधी व्यवसाय धरासायी हुन पुगेको बताउँदै समयसापेक्ष व्यवासायीले पनि बीमासँग व्यवसायलाई जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । दर्ता बिनै सञ्चालनमा रहेका अवैद्य औषधी व्यवसायीका कारण स्वास्थ्य क्षेत्रमा विकृत्ति बढेको भन्दै प्रदेश अध्यक्ष ज्ञवालीले राज्यले कडाईका साथ त्यस्ता व्यवसायको नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका निवर्तमान जिल्ला अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका प्रदेश उपाध्यक्ष अमृत्त सुवेदी, प्रदेश सदस्य एवं नवलपरासी ईन्चार्ज थानेश्वर ज्ञवाली, संघका रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष खड्क बस्नेत, संघका जिल्ला सल्लाहकार सूर्यबहादुर क्षेत्री, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव एवं पत्रकार मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको संघका महासचिव बाबुराम तिमिल्सिनाले जानकारी दिनुभयो ।
साधारणसभाले अध्यक्ष पौडेल, सचिव तिमिल्सिना र कोषाध्यक्ष राजकुमार चौधरीद्धारा प्रस्तुत वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ भने सोही अवसरमा औषधी व्यवसायीहरु पलकधारी गुप्ता, नगेन्द्रमान गहतराज र बासुदेव कार्किलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.