Jilla Ban Notis

अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

लुम्बिनीबाटै सुरु भयो एमाले–जसपा सहकार्य

0 27

रुपन्देही, बैशाख ६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने खेल निकं महंगो सावित भएको छ । कांग्रेससँग मिलेर मुख्यमन्त्री पोखरेलबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरी एमालेको माधव नेपाल समुहलाई फ्लोर क्रस गराउने प्रचण्डको सपनालाई केही घण्टामै मुख्यमन्त्री पोखरेलले तुहाइ दिनुभएको हो । प्रचण्डको यो खेलसँगै लुम्बिनीबाट एमाले र जनता समाजवादी पार्टी ९जसपा० बीच सत्ता सहकार्य सुरु भएको छ ।

मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जनासहित जसपाका चार सांसदलाई थपेर आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसपाका सांसदहरुको पुरानो हस्ताक्षर सामेल गरी अबिश्वासको प्रस्ताव दर्ता गरेलगत्तै मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई मन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराउँदै प्रचण्डलाई दह्रो काउन्टर दिनुभएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराउनु भयो । सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको हो ।

थपिएका मन्त्रीमध्ये भौतिक पूर्वाधारमा सन्तोष पाण्डे हुनुहुन्छ । यस्तै सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषिमन्त्री आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्री बनाइएको छ । त्यसैगरी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई जवाफ दिन मुख्यमन्त्री पोखरेल फाल्ने अभियानसहित अबिश्वासको प्रस्ताव दर्ता गराउन लगाउनु भएको थियो । तर उहाँकै लागि यो खेल महंगो सावित भएको हो । प्रचण्डकै अभियानपछि लम्बिनीबाट एमाले र जसपाको सत्ता सहकार्य सुरु भएको हो । यस्ले केन्द्रमा समेत प्रभाव पर्ने देखिएको छ । २ जनता टाईम्स

Leave A Reply

Your email address will not be published.