Jilla Ban Notis

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन बर्दघाटमा शुरु

0 78

बर्दघाट,भदौ –७
अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दिब्यनगरको एक गुम्बाको सभाहलमा शुरु भएको छ । शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिं श्रीसले सम्मेलनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता श्रीसले थारु समुदायको इतिहास प्रति राज्य उदाशिन भएको उल्लेख गर्दै आदिवासी जनजातिको अधिकारका लागि जुट्ने समय आएको बताउनुभयो ।
सम्मेलनमा शुभकामना दिदै श्रीसले संसदीय ब्यवस्थाबाट थारु समुदायको मात्र नभई समग्र उत्पिडीत वर्गको मुक्ति सम्भव नहुने प्रष्ट पार्नुभयो । जनता नै इतिहासको निर्माता भएको चर्चा गर्दै नेता श्रीसले संसदीय ब्यवस्थामा एक थान मन्त्री , उपराष्ट्रपति वा सभामुख भएर जातीय मुक्ति नहुने जानकारी दिनुभयो ।

मजदुर किसानहरु लगयतका वर्ग समेत शोषणमा परेको बताउदै उहाँले नयाँ जनवादी क्रान्तिको आवश्यकता औल्याउनुभयो । श्रीसले थरुहट स्वायत प्रदेशको आवश्यकता रहेको जोड दिदै अहिलेको संघीयता नाम मात्रको भएको बताउनुभयो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सचिज भुपेन्द्र न्यौपानेले उत्पिडित वर्गको मुक्तिको चाहनालाई क्रान्तिकारी माओवादीको नेतृत्वमा मात्र सम्भव हुने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा गाउँ गाउँका अन्याय अत्याचार दमन र शोषण भएको चर्चा गर्दै त्यसलाई संर्घषको माध्यमबाट हल गर्ने बताउनुभयो ।
फरक प्रसंगमा नेता न्यौपानेले मिटर ब्याजी तथा लघु बित्तबाट पिडित जनताको घरबास समेत उठाएर बताउदै त्यसको प्रतिकार गर्न आब्हान गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा प्रदेश सचिव छविलाल खरेलले मिटर ब्याजी तथा लघुबित्तबाट मजदुर किसानहरु बढी प्रताडित भएको चर्चा गर्दै सरकारले ती समस्या समाधान नगरे जनताको बीचबाट हल गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले कुनै पनि अन्यायको बिरुद्ध हुने संर्घषलाई संचारक्षेत्रबाट आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लामा मिटर ब्याज र लघुबित्त पिडितको आन्दोलनलाई एकीकृत र संगठित रुपमा लैजानुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारीले मंहगी भष्ट्रचारी सुदखोरीका बिरुद्ध लागि परेको जानकारी दिनुभयो । उहाँले गाउँघरमा सुदखोरहरुको आंतक रहेको चर्चा गर्दै त्यसका बिरुद्ध मोर्चाले संर्घष उठान गरेको बताउनुभयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले संबिधान बनाउने बेलामा नै आदिवासी जनजाति तथा अल्पसंख्यकहरु माथि धोका भएको उल्लेख गर्नुभयो । उहाँले ऐतिहासिक रुपमै थारु मुक्ति मोर्चाले राष्ट्रिय सम्मेलन गरेको प्रति आफुलाई खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय कोषाध्यक्ष तथा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष भरत पुर्जा मगरले सबै उत्पिडित जातिहरुबीचको एकताको अपरिहार्यता रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदी केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीलगायत बिभिन्न जनवर्गीय मोर्चा संगठनमा संयोजकहरुको आतिथ्यता थियो ।
सम्मेलनले नयाँ केन्द्रीय समिति निर्वाचित गर्दै पश्चिम नवलपरासी घोषणा पत्र जारी गर्ने केन्द्रीय संयोजक कमल चौधरीले जानकारी दिनुभयो । कार्यक्रम अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका सहसंयोजक रामजी थारुको संचालन, केन्द्रीय सचिवालय सदस्य दुर्गा नारायण थारुको स्वागतमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.