कृष्ण ढकाल
बर्दघाट,असार–२८
बर्दघाट–१४,चौपात्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । अस्पताल विकास केन्द्रका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रदेश मन्त्री कलवारले सबै मिलेर अघिबढेमा सहिद स्मृति सामुदायिक अस्पताललाई ब्यवस्थीत रुपमा सञ्चालन गर्न सकिने बताउनु भएको थियो । मन्त्री कलवारले अन्यत्र स्थानमा राजनिति गरेपनि अस्पताल जस्तो क्षेत्रमा कसैले राजनिति गर्न नहुने धारणा राख्नु भएको थियो ।
त्यसैगरी निर्वतमान प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले सहिद स्मृति सामुदायिक अस्पताल भौतिक सम्पन्न रहेकाले यसमा महिला अस्पताल,बालबालिका अस्पताल वा जेष्ठनागरीक अस्पताल जस्तो कुनै एक सरकारी अस्पतालका रुपमा सञ्चालन गर्र्नु पर्नेमा जोड दिनु भएको थियो । स्थानिय जनताको स्वास्थ्य सेवाका लागि अतिआवश्यक रहेको अस्पताललाई सरकारीकरण गरेर सञ्चालन गर्ने वातावरण सृजना गर्न सबै एक भएर लाग्नु पर्ने बेला आएको अधिकारीको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरका नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब बर्दघाटका सबै संघ संस्थाहरुले रक्तदान कार्यक्रम गर्दा सहिद स्मृति सामुदायिक अस्पताल चौपात्तामा नै गर्ने गरी छिट्टै ब्लड बैक स्थापना गर्ने बताउनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले नगरमा ६ वटा बर्थीङ्ग सेन्टरहरु ब्यवस्थीत रुपमा सञ्चालन गरीएको भएपनि नगरवासीहरुलाई सेवा प्रति विश्वास दिलाउन नसकेका कारण ७० प्रतिशत नगर बाहिर गएर बर्थीङ्ग सेवा लिएको तथ्याङ आएपछि अब पूर्ण ब्यवस्थित रुपमा गुणस्तरीय सेवा सहितको बर्थीङ्ग सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा सञ्चालन गर्नेगरी नगर अघिबढेको जानकारी गराउनु भएको थियो । अस्पतालको ब्यवस्थापन समितिमा रहने तर सहयोग नगर्ने ब्यक्तिहरुका कारण समस्या परेको गुनासो आएकाले त्यस्ता ब्यक्तिहरुले विदालिन समेत नगर प्रमुखले आग्रह गर्नु भएको थियो ।
सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रका सह–सचिव शोभाखर भुषालको सञ्चालन र उपाध्यक्ष टिकाराम भण्डारीको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापा,वृहस्पति अधिकारी,दामोदर जि.सी. लगाएतले आ–आफ्ना धारणाहरु राख्नु भएको थियो ।
नयाँ आर्थिक बर्ष शुरुहुन केहि दिन बाँकी रहदा आयोजना गरीएको १४औं वार्षिक साधारण सभामा सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रले गतवर्ष प्रवाह गरेका सेवा सुविधाका वारेमा संस्थाका अध्यक्ष डिल बहादुर थापाले जानकारी गराउनु भएको थियो ।
त्यस्तै अस्पताल विकास केन्द्रका कोषाध्यक्ष्ँ नाथुराम क्षेत्रीले आ.ब. २०८०÷ ०८१ मा संस्थाको आय १ करोड ५७ लाख ६२ हजार र ब्यय १ करोड,७१ लाख ८३ हजार रुपैया बराबरको रहेको विवरण प्रस्तुत गर्नु भएको थियो । जस्मा ६ करोड ९७ लाख ७० हजार रुपैया कुल सम्पति रहेको र ७२ लाख ८८ हजार रुपैया अस्पतालले भुक्तानी गुर्नपर्ने दायित्व रमक रहेको आर्थिक प्रतिवेदन सार्बजनिक गर्नु भएको थियो ।