कृष्ण ढकाल
बर्दघाट,असार–२८
सेवाग्राहीलाई सहज, छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ बर्दघाट नगरपालिकाले सबै वडामा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । शनिवार बर्दघाट नगरपालिका वडा नम्बर १६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दे नगरप्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै बर्दघाट नगरपालिकाका सबै वडा कार्यालयहरू अब पूर्वाधार सम्पन्न बन्दै गएको श्रेष्ठको भनाई थियो।
सोही कार्यक्रममा बोल्दै वडा नम्बर १६ का वडा अध्यक्ष भिमकाजी गुरुङले अहिलेसम्म अस्थायी प्रकृतिको भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही तथा कर्मचारी दुवैलाई विभिन्न असहजता भोग्नुपरेको स्मरण गर्दौ नवनिर्मित सुविधासम्पन्न भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र सहज हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
