sunwal

सुस्ता गाउँपालिकाद्धारा ६० करोडको बजेट सार्वजनिक,विनय त्रिबेणीको वडा न.६ र ७ लाई सुस्तामा गाभ्ने निर्णय

545

सुस्ता,असार–११
आर्थिक वर्ष २०८३र८४ का लागि सुस्ता गाउँपालिकाले ६० करोड ३२ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष गीता चौधरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३७ करोड ३१ लाख ७८ हजार रुपैयाँ तथा पुँजीगततर्फ २३ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सुस्ता गाउँपालिकाले नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भएको छ ।
पालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार गाउँपालिकाले दिगो तथा गुणस्तरीय पूर्वाधार निर्माण, सर्वसुलभ आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारमूलक तथा सीपमूलक कार्यक्रम, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्द्धन र विकास, रोजगारी प्रवर्द्धन तथा गरिबी न्यूनीकरण, लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेर नै बजेट विनियोजन गरेको पालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनु भयो ।

त्यस्तै विपद् व्यवस्थापन तथा वातावरण संरक्षण, पर्यटन क्षेत्रको प्रवर्द्धन, तथा प्रविधियुक्त एवं नागरिकमैत्री, जवाफदेही सेवा प्रवाहलाई समेत नीति तथा कार्यक्रमको मुख्य आधार बनाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनु भएको छ । विनय त्रिबेणि गाउँपालिकाका वडा नम्बर ६ र ७ लाई सुस्ता गाउँपालिकामा गाभ्ने निर्णय गाउँ सभाले सर्वसम्मत रुपमा पारित गरेकाले यो सभाले महत्वपूर्ण निर्णय भएको भुषालको भनाइ छ ।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार तथा पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याएकाले आगामी वर्ष विकास निर्माणका कामले थप गति लिने अपेक्षा गरिएको छ।गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बिनियोजीत बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गरे ।