बर्दघाट ,असार ५
असार ७ गते बर्दघाट मण्डपमा बृहद् योग शिविर सञ्चालन हुने भएको छ । १२ औँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बर्दघाट ४ हरियालीनगर बर्दघाट मण्डपमा योग शिविर सञ्चालन हुनेछ । शुक्रबार आयोजक संस्था त्रिनेत्र बुद्ध मङ्गल योग समितिले जिमिरेभारमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
बर्दघाट नगरपालिकालाई आगामी माघ १ गते योग नगरको रुपमा घोषणा गर्ने गरी आफ्ना गतिविधिहरू अगाडि बढाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभएको छ । नगरपालिका भित्र दीर्घरोगीको सङ्ख्या बढ्दै गएको, अस्वस्थ खानपान र अव्यवस्थीत जीवन शैलीका कारण विभिन्न रोगबाट ग्रसित हुनुपरेको अवस्थामा योग नै उत्तम विकल्प रहेको श्रेष्ठको भनाई रहेको थियो । भौतिक पूर्वाधारको विकास सँगै स्वस्थ नगर अभियानलाई साकार बनाउने योगमा नगरले लगानी गरेको श्रेष्ठले बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै त्रिनेत्र बुद्ध मङ्गल योग समितिका अध्यक्ष नरेश पँगेनीले असार ७ गतेको बृहद् योग शिविरलाई भव्य रुपमा सफल बनाउनका लागि सबैलाई आग्रह गर्नुभएको थियो । पँगेनीले बर्दघाट नगरपालिकाका १० वटा वडामा १२ वटा साधना केन्द्र मार्फत नियमित रुपमा योग साधना सञ्चालन हुँदै आइरहेको जानकारी दिनुभयो । योग अभियानमा बर्दघाट नगरपालिकाले निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै उहाँले बाँकी ६ वटा वडामा साधना केन्द्रहरू सञ्चालन गरी आगामी माघ १ गते भव्य कार्यक्रम सहित बर्दघाट नगरपालिकालाई योग नगर घोषणा गर्ने गरी कार्यक्रमहरू गरिरहेको पँगेनीले बताउनुभयो ।
