Bardaghat Na pa

अवैध मोबाइलका सामाग्री बरामद

36

कृष्ण ढकाल

बर्दघाट,चैत्र -९

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले अवैध रूपमा भन्सार छली गरी भित्र्याइएका सामान बरामद गरेको छ।
प्रहरीका अनुसार सुनवल नगरपालिका–११ भडेरी स्थित प्रमिला यादवको दुई तले घरमा भुइँ तल्लामा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइल ग्लास र एयरपड्स फेला पारिएको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले ती सामान बरामद गरेको जनाएको छ।
बरामद गरिएको सामानमध्ये विभिन्न कम्पनीका करिब २२ हजार ५ सय थान मोबाइल ग्लास र २ लाख ८५ हजार मूल्य बराबरका १९० थान एयरपड्स प्रो रहेको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य करिब ८ लाख ४६ हजार रुपैयाँ रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।
प्रहरीले बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाएको जनाएको छ।