परासी,२८ फागुन
ग्यास अभाव भएको गुनासो बढेपछि पश्चिम नवलपरासीमा रहेका ग्यास उद्योग तथा ग्यास बिक्रेता पसलहरूमा अनुगमन गरिएको छ । मध्यपूर्वमा भइरहेको अशान्तिका कारण ग्यास अभाव हुने सन्त्रास उपभोक्तामा देखिएको बेला व्यवसायीहरुले पनि तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास सिलिण्डर विक्री गरिरहेको गुनासो आएपछि प्रशासनले तत्काल अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उद्योगहरूबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको र बजारमा वास्तविक अभाव नरहेको पाइएकोले हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नवलपरासी उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नवलपरासी, पत्रकार तथा सुरक्षाकर्मीसहितको संयुक्त बजार अनुगमन टोलीले विहीबार परासी बजार तथा पाल्हीनन्दनको बैरवामा रहेका ग्यास विक्रेता पसल एवं जिल्लामा रहेका आरती ग्यास र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेको हो ।
बजारमा ग्यास अभावको हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर घरमै स्टक राख्न थालेका कारण माग अस्वाभाविक रूपमा बढेको देखिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन पाण्डेले बताउनुभयो । केही उपभोक्ताले एकभन्दा बढी सिलिन्डर जम्मा गर्ने प्रवृत्ति बढेको गुनासो पनि आएको छ।
अनुगमनका क्रममा कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरिएको नपाइएको तर ग्यास बिक्रेतालाई उपभोक्ताको विवरण अभिलेख राखेर एक व्यक्तिलाई एकवटा मात्र सिलिन्डर बिक्री गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष ढुंंगानाले बताउनुभयो ।
कृत्रिम अभाव देखाएर ग्यासको कालोबजारी नगर्न व्यवसायीलाई सचेत गराइएको छ । यता सीमा क्षेत्रका केही व्यवसायीले भने नेपाली उपभोक्तालाई ग्यास छैन भनेर फर्काउने तर भारतीय उपभोक्तालाई पल्टी गरेर बिक्री गरिरहेको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले गुनासो आएलगत्तै अनुगमन गरिएको र बजारमा ग्यासको आपूर्ति नियमित रहेको पाइएकोले हल्लाको पछि लागेर अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। उहाँले कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।
