कष्ण ढकाल
बर्दघाट,असार १७
बर्दघाट नगरपालिकाले एचआइभी संक्रमित र प्रमाणित बालबालिकाका लागि पोषण र शैक्षिक सामग्री वितरण एवं भेदभाव र लान्छना विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। पोषण सामग्री अन्र्तगत दाल,चामल लगाएतका खाद्यवस्तु र सरसफाईका सामानहरु वितरण गरीएको थियो भने बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरीएको थियो ।
बर्दघाट नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नगरक्षेत्र भित्रका एचआइभी संक्रमित र प्रमाणित भएका बालबालिका तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले आफूहरूले नगरकै स्वास्थ्य संस्थामा सेवा लिन जाँदा कर्मचारीबाट अपहेलित हुनुपरेको तितो अनुभूति स्मरण गराएका थिए। त्यसैगरी आफूप्रति समाजका व्यक्तिहरूले हेर्ने दृष्टिकोण समेत परिवर्तन नभएको भन्दै गुनासो गरेका थिए।
सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सहभागिहरुलाई“ परिस्थिति र बाध्यताले संक्रमित हुनुभएको हो चाहेर हैन हिम्मत गरेर अघि बढ्नुस् आफ्नो कामलाई निरन्तरता दिनुस् ”भन्दै अनुरोध गर्नुभएको थियो।
त्यस्तै बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले कोही नहुनेहरूको अभिभावक भनेको बर्दघाट नगरपालिका रहेको भन्दै संक्रमित र प्रभावितहरूका लागि बर्दघाट नगरले छात्रवृत्ति सुरुवात गरेपछि अहिले सबै पालिकाले सुरु गरेको स्मरण गराउँदै सबैलाई निराशा होइन आशावादी भएर अघि बढ्न अनुरोध गर्नुभएको थियो।
२५ बढी सहभागी रहेको उक्त कार्यक्रममा बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी न्यौपाने र जनस्वास्थ्य अधिकृत कृष्णहरी पौडेलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा बर्दघाट नगरपालिकाका योजना शाखा प्रमुख पुष्कर काफ्ले,लुम्बिनी प्लसकी रिता पौडेल नारीआवाजकी दुर्गा तिमिल्सिना र सहभागीकी बिनिता खड्का ,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल लगायतको उपस्थिति रहेको थियो ।
