फागुन -११
नेकपा एमालेका तर्फबाट पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखनाथ खरेलले नवलपरासीको समग्र विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै आफूलाई परिवर्तनको संवाहकका रूपमा अघि सार्नुभएको छ ।
परासी प्रेस क्लवद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खरेलले युवाको चाहना अनुसारको नेतृत्व आवश्यक रहेको बताउँदै आफू नयाँ अनुहार, युवा र यो क्षेत्रको विकासका लागि स्पष्ट योजना भएको योग्य उम्मेदवार रहेको उल्लेख गर्नुभयो ।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै सहकारी र सामुदायिक क्याम्पसको नेतृत्व गरिसकेको अनुभव सुनाउँदै उहाँले आफूमा अहिलेसम्म कुनै दाग नलागेको दाबी गर्नुभयो । “प्रतिस्पर्धी उम्मेदवारहरू टेस्टेड हुनुहुन्छ, म अनटेस्ट भए पनि स्पष्ट योजना र इमानदार प्रतिबद्धता बोकेर आएको छु,” उहाँले भन्नुभयो।
पूर्वाधार र आर्थिक विकासमा जोड
खरेलले महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा महेशपुर–परासी–सुनवल सडकलाई चार लेनमा विस्तार गरी कालिगण्डकी करिडोरसँग जोड्ने योजना सार्वजनिक गर्नुभयो । यसले व्यापार, रोजगारी र क्षेत्रीय अर्थतन्त्रलाई टेवा पुग्ने उहाँको विश्वास छ।
पर्यटनको नयाँ खाका
पश्चिम नवलपरासीलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित उनले रामग्राम स्तूप, पण्डितपुर, तरगौली ताललगायतका स्थलको विकास गर्ने बताउनुभयो । साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग पर्यटन सञ्जाल जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने रणनीति रहेको उहाँको भनाइ छ। होमस्टे, हिल स्टेशन र पदमार्ग निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।
युवा र रोजगारीमा विशेष योजना
विदेश पलायन रोक्न र युवालाई स्वदेशमै अवसर दिन वार्षिक ७०० जनालाई कृषि तथा निजी क्षेत्रसँगको सहकार्यमा स्वरोजगार बनाउने खाका सार्वजनिक गरिएको छ। “उर्वरा भूमिको सही सदुपयोग, उत्पादनको बजारीकरण र भण्डारण व्यवस्थापन हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो । “एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार” अवधारणासमेत अघि सारिएको छ।
स्वास्थ्य र शिक्षा सुधार
परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई १०० शैय्याको बनाउँदै विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । साथै पाल्हीनन्दन अस्पताल स्तरोन्नति, सुनवलमा निर्माणाधीन अस्पताल सम्पन्न गर्ने तथा सरावलमा १५ शैय्याको अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा विस्तार गर्दै क्षेत्रलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य उहाँले प्रस्तुत गर्नुभयो । लुम्बिनी चिनी कारखानालाई व्यवस्थापन गरी मेडिकल कलेज वा विश्वविद्यालय स्थापना गर्ने सम्भावनासमेत औँल्याउनुभयो ।
सुशासन र सामाजिक न्याय
भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो स्पष्ट वाचा भएको उल्लेख गर्दै खरेलले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा पहल गर्ने बताउनुभयो । उद्योग व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि ठोस योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले विकास र एमाले एकअर्काका पर्याय भएको दाबी गर्दै आफूलाई विजयी गराई सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभयो ।
