Bardaghat Na pa

चिसोबाट प्रभावित विपन्न परिवारलाई कम्बल वितरण

347

परासी ,पाैष -२५

पश्चिम नवलपरासीमा बढ्दो चिसो र शीतलहरबाट प्रभावित गरिब तथा विपन्न समुदायका ७५ जना नागरिकलाई कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले नेपाल रेडक्रस सोसाइटी नवलपरासीसँगको समन्वयमा जोखिममा रहेका नागरिकको पहिचान गरी राहतस्वरूप कम्बल वितरण गरेको हो।

जिल्लाको प्रतापपुर गाउँपालिका–६ कठहवास्थित मुसहर टोलका ४३ जना तथा सुस्ता गाउँपालिकाका ३२ जना गरी ७५ जना अति विपन्न नागरिकलाई प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेतृत्वमा गएको टोलीले घरदैलोमै पुगेर बुधबार कम्बल वितरण गरेको हो ।

अत्यधिक चिसोका कारण दैनिक जीवन कष्टकर बनेका समुदायलाई राहत दिन प्रत्यक्ष रूपमा घरमै पुगेर सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । उहाँले विपद् तथा मौसमजन्य जोखिमको समयमा राज्य नागरिकको साथमा रहेको सन्देश दिँदै चिसोका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रेडक्रससँगको सहकार्यमा विपन्न नागरिकको तथ्यांक संकलन गरी राहत वितरण गरिएको जानकारी दिनुभयो ।

प्रजिअ नेपालले असहाय, गरिब, ज्येष्ठ नागरिक, बालबालिका तथा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर सहयोग गरिएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि आवश्यकता अनुसार राहत तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवाला निकायको सहकार्यमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, रेडक्रस जिल्ला शाखाका सदस्य तथा विपद् व्यवस्थापन समिति संयोजक अर्जुन क्षेत्री लगायतको सहभागिता रहेको थियो।

लगातारको शीतलहरका कारण गरिब तथा अति विपन्न नागरिकको दैनिकी अत्यन्तै कष्टकर बनेको अवस्थामा कम्बल प्राप्त भएपछि प्रभावित समुदायले राहतको अनुभूति गरेका छन्। विशेष गरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर, ज्येष्ठ नागरिक, असहाय व्यक्ति तथा साना बालबालिका अत्यधिक चिसोका कारण बढी जोखिममा रहेका छन्।

स्थानीयवासीले कठिन समयमा राज्य र सहयोगी निकायबाट प्राप्त सहयोगले आफूहरूलाई ठूलो सहारा मिलेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । चिसो मौसम अझै केही समय कायम रहने सम्भावना रहेकाले थप राहत तथा सहयोग आवश्यक रहेको स्थानीयको भनाइ थियो ।