मेघराज गौतम
परासी, भदौ –२२
जिल्ला समन्वय समिति नवलपरासीको आयोजनामा आर्थिक बर्ष २०८१।०८२ को बार्षिक प्रगति समिक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम परासीमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव रुदलको अध्यक्षता र प्रतिनिधि सभा सदस्य एवं पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा बार्षिक प्रगति समिक्षा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी, सात वटै पालिकाहरु र जिल्ला स्थित सरकारी एवं गैरसरकारी संघसंस्थाहरुले गत आर्थिक बर्ष २०८१।०८२ को प्रगति तथा गरिएका असल अभ्यासबारे प्रस्तुतिकरण गरेका छन् ।
जिल्ला समन्वय समितिको तर्फबाट समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु, रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकाल, सुनवल नगरपालिकाका योजना प्रमुख पुरुषोत्तम ढकाल, बर्दघाट नगरपालिकाका योजना प्रमुख पुस्कर काफ्ले, सरावल गाउँपालिकाका योजना प्रमुख इश्वरीप्रसाद खनाल, सुस्ता गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल, पाल्हीनन्दन गाउँपालिकाका प्रशासन शाखा प्रमुख रामविलास यादव र प्रतापुर गाउँपालिकाका लेखा अधिकृत लगायतले प्रगति समिक्षा प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा अन्य विषयगत कार्यालयहरुमा स्वास्थ्य कार्यालय, हुलाक कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, पशु तथा भेटेनरी विज्ञ केन्द्र, डिभिजन वन, घरेलु तथा साना उद्योग कार्यालय लगायत दजनौ विषयगत कार्यालयको प्रस्तुतिकरण रहेको समन्वय प्रमुख यादवले जानकारीदिनु भयो । समन्वय प्रमुख यादवले प्रगति समिक्षामा पालिकाहरुले गरेको असल अभ्यासको प्रसंशा गर्दै जिल्लामा फोहर व्यवस्थापनको काम एकीकृत ढंगले गर्न सुझाव समेत दिनु भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य खड्ग बस्नेत, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष रवि पाण्डे लगायतले बार्षिक समिक्षा कार्यक्रमको शुभकामना व्यक्त गर्नु भएको थियो ।
जिल्ला समन्वय समिति नवलपरासीका उपप्रमुख रामदयाल तेलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत सुमिता मरासीनीले गर्नु भएको हो ।
जिल्लाका सवै निकायहरूको प्रस्तुतिकरण सकिएसँगै आइतबार आठौ जिल्ला सभा पनि गरिएको समन्वय प्रमुख यादवले जानकारी दिनु भयो । सोमबार आठौं जिल्ला सभाले गरेका महत्वपूर्ण निर्णयहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।