कृष्ण ढकाल
बर्दघाट,साउन–१६
बर्दघाट नगरपालिका वडा नं.५ ,बण्डाखोला जितपुरका १ सय १ घरपरिवारहरुलाई आज दोस्रो चरणको जग्गा धनी प्रमाण पुर्जा वितरण गरीएको छ। यसअघि २०८२ असार २१, शनिबार बण्डाखोला जितपुरमा पहिलो चरणमा ६७ घरपरिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरी सकिएको थियो ।
भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासी जिल्लाको आयोजना र बर्दघाट नगरपालिकाको समन्वयमा भएको भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीहरुलाई दोस्रो चरणको जग्गा धनी प्रमाण पुर्जा वितरण गरीएको हो ।
बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८ सय ४४,भूमिहीन सुकुम्बासी १ हजार ४ सय ८१ र अव्यवस्थित बसोबासी ४ हजार ९ सय ४५ गरी कुल ७ हजार २ सय ७० जनाको निवेदन प्रविष्ट भएको छ ।
भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षता र सांसद विनोद चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त पुर्जा वितरण कार्यक्रममा बोल्दै सांसद चौधरीले सबैलाई आफ्नो स्वामित्वमा रहेको जग्गाको मालिक बनाउन हरपहल लागेको बताउनु भएको थियो।
पुर्जा वितरण कार्यक्रममा गुटको संकेत देखिएको प्रति ब्यङग गर्दै सांसद चौधरीले एकले अर्कालाई लडाउने काम छोड्न आग्रह गर्नु भएको थियो। शालिन्तालाई विर्सेर राजनितिको सिमा तोडेको भन्दै सिमा नतोड्न र जनताका काममा एकठाउँमा आउन चौधरीले आग्रह समेत गर्नु भएको थियो।
बर्दघाट–५ ,पाल्डाँडामा रहेको शान्ति निकुञ्ज मा.बि.को सभाहलमा भएको पुर्जा वितरण कार्यक्रममा बोल्दै निर्वतमान लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले जोत भोग नगरेका र अरुको धरमा वस्ने गरीव निमुखाहरुका लागि पनि बसोवासको ब्यवस्था गर्नु पर्ने धारणा राख्नु भएको थियो।
त्यसैगरी जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष भगौवती प्रसाद यादव (रुदल)ले भौतिक विकास र सामाजिक विकासमा सबै जना एकठाउँ भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियो भने बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले चुनावका वेला गरेकोबाचा पुरा गर्न लागेको बताउनु भयो । उहाँले बर्दघाट नगरका सबै भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीहरुलाई जग्गाको मालिक बनाउने कार्य नगर पछि नहटने समेत बताउनु भएकोथियो ।
बर्षौ देखि आफ्नो स्वामित्वमा रहेको जग्गाको मालिक भएको प्रमाण नपाएर नै बिभिन्न समस्या खेप्दै आएकाहरु भने जग्गा धनी प्रमाण पुर्जा पाए पछि निक्कै खुशि भएका छन । तर अझै पनि बर्दघाट नगरपालिका वडा नं.५ ,बण्डाखोला जितपुरका भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीहरुका समस्या भने बाँकी नैरहेका छन ।