मोहन पौडेल
परासी, असार १४
जनपक्षीय विकासलाई केन्द्रमा राखेर वर्तमान राजनीतिक नेतृत्व अघि बढ्न आवश्यक रहेकोमा सराकोरवालाहरुले जोड दिएका छन् ।
जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)को मूल मर्म नै जनपक्षीय विकासबाट मात्रै समृद्ध नेपाल निर्माण हुने भएकोेले राजनीतिक नेतृत्वले त्यसैलाई आधार मानेर व्यवहारमा उत्तार्नुपर्ने उनीहरुको भनाइ थियो ।
मदन भण्डारी फाउण्डेसन पश्चिम नवलपरासी शाखाले ७४ औँ मदन भण्डारी जयन्तीको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रबार परासीमा सम्पन्न विचार गोष्ठीमा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् । मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज बलबहादुर आर्चाले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको मूल मर्म जनपक्षीय विकास हो भन्ने कुरा आजको परिवेशमा झन् सान्दर्भिक हुँदै गइरहेको बताउनुभयो ।
सामाजिक न्याय, समानता र लोकतान्त्रिक प्रणालीमार्फत समृद्ध नेपाल निर्माण गर्ने उहाँको दृष्टिकोण हालको राजनीतिक, सामाजिक तथा आर्थिक सन्दर्भमा समेत मार्गदर्शक बन्न सक्ने उहाँको तर्क थियो । तीनै तहका सरकारले जनताको आवश्यकताका आधारमा बजेट तथा योजना बनाएर अघि बढ्नु नै अहिलेको उत्तम विकल्प भएको बताउँदै केन्द्रीय सदस्य आचार्यले समृद्धिको आधार पहिचान गर्न जोड दिनुभयो ।
नेकपा एमालेका केन्द्रिय स्कुल विभाग सदस्य बद्री खनालले जननेता भण्डारीले प्रतिवादन गरेको विचारले गरिब, मजदुर, किसान, महिला, दलित, पिछडिएको वर्गको हकअधिकार सुनिश्चित गर्न समावेशी विकास र सामाजिक न्यायमा केन्द्रित शासन प्रणालीको आवश्यकता औँल्याएको बताउनुभयो । उहाँका विचारहरू सस्तो लोकप्रियताका लागि नभई दीर्घकालीन संरचनागत परिवर्तन र नीतिगत स्थायित्वमा केन्द्रित रहेको खनालको भनाइ थियो। फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले मदन भण्डारी जनतामुखी सोचको प्रतिविम्ब भएको बताउँदै आजको राजनीति, नीति निर्माण र विकास योजनामा जनताको चाहना र सहभागिता समावेश नगरी समृद्ध नेपाल सम्भव नरहेको उल्लेख गर्नुभयो ।
विकासको केन्द्रमा जनता हुनुपर्ने भण्डारीको सोचलाई आधार मानेर योजनाहरू अघि बढाउनुपर्ने र जबजलाई व्यवहारमा लागू गर्नु नै उहाँको विचारप्रति सच्चा श्रद्धाञ्जली हुने बस्यालको भनाइ थियो । अध्यक्ष बस्यालले फाउण्डेसनले जिल्लामा रगत अभाव हुन नदिन अभियान नै चलाएको भन्दै सामाजिक र वैचारिक माध्यमबाट विभिन्न योजना अघि सारिएको उल्लेख गर्नुभयो । फाउण्डेसन अन्र्तगतको बौद्धिक मञ्चका संयोजक दीपक ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव रामचन्द्र भण्डारी,सचिवालय सदस्य सरिता पौडेल, सुनवल नगर अध्यक्ष मुक्ति बहादुर भण्डारी लगायतले मदन भण्डारीको योगदान र विचारको विषयमा प्रकाश पार्नुभएको फाउण्डेसनका जिल्ला सदस्य सुदीप पौडेलले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत फाउण्डेसनले आज बर्दघाटमा बृहत साहित्यीक कार्यक्रम आयोजना गर्दैछ