sunwal

बर्दघाट नगरपालिकाद्धारा शितलहरको विपद् पूर्व तयारी शुरु

203

रबिलाल पाण्डे
बर्दघाट,मंसीर–२५
सम्भावित शितलहरबाट नगरवासीलाई जोगाउन बर्दघाट नगरपालिकाले विपद् पूर्व तयारी शुरु गरेको छ । आइतवार नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठक गरेर नगरले पूर्व तयारी सम्बन्धि छलफल गरेको हो ।
सो अवसरमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरबाट विपन्न समुदायलाई जोगाउने भुमिका खेल्नका लागि पूर्व तयारी शुरु भएको बताउदै सबै सरोकारवालाहरुलाई बोलाएर पुनः छलफल गर्नुपर्ने बताउनु भयो ।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले शितलहरले बिपन्न समुदाय तथा पशु एंव बालीलाई समेत नोक्सान गर्ने उल्लेख गर्दै जोखिम नियन्त्रणको पूर्व तयारीमा सबै तह र तप्काबाट जुट्न आग्रह गर्नु भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकामा तोकिएका फोकल पर्सन देखि सरोकारवाला सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले आगामी बैठकमा सामुदायिक वन तथा अन्य सरोकारवालासंग समन्वय बैठक समेत बस्ने बताउनु भयो।

बैठकमा विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरी १६ का वडाका वडाध्यक्ष भिमकाजी गुरुंग विपद् ब्यवस्थापन समितिका फोकल पर्सन पुष्कर काफ्ले, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतको सहभागीता रहेको छ ।