कृष्ण ढकाल
बर्दघाट, भदौ–२६
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बर्दघाट–१६ सूर्यनगरका दुई महिला समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
श्री शान्ति बुहारी समूह, बर्दघाट–१६ सूर्यनगरले रु. १० हजार रुपैयाँ सहयोग गरेको समूहकी अध्यक्ष कविता गुरुङले जानकारी दिनुभयो। समूहकी सचिव टिका गुरुङले पनि बाढीपीडितको दुःखमा साथ दिन सहयोग गरिएको बताउनुभयो।
त्यसैगरी, शित्तलवस्ती आमा समूह, बर्दघाट–१६ शित्तलवस्तीले रु. २० हजार १ सय ९५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको समूहकी अध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो। समूहकी सचिव नरकुमारी गुरुङका अनुसार विपद्मा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले रकम उपलब्ध गराएको हो।
दुवै समूहले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने भन्दै भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
दुवै समूहबाट गरी कुल रु. ३० हजार १ सय ५९ रुपैयाँ सहयोग भएको छ।
