कृष्ण ढकाल
बर्दघाट, भदौ–१९
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि बर्दघाट नगरपालिका–१६, सूर्यनगरमा रहेको दाउन्ने देवी सामुदायिक वन उपभोक्ता समूहले ३० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
समूहका अध्यक्ष हरिश्चन्द्र सापकोटाले भदौ १७ गते जारी गर्नुभएको विज्ञप्तिमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ। विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएकाले समूहको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष सापकोटाले बताउनुभएको छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। बाढीका कारण घर, सडक, पुल, व्यवसाय तथा अन्य भौतिक संरचनामा क्षति पुगेका कारण प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ।
