sunwal

सेनेटरी ल्याण्डफिल साइट निर्माणका लागि सार्वजनिक सुनुवाइ

550

कृष्ण ढकाल
बर्दघाट, भदौ–१८

बर्दघाट नगरपालिकाले वडा नं. ४ स्थित पारिजात सामुदायिक वन क्षेत्रमा निर्माण तथा सञ्चालन गर्न लागेको सेनेटरी ल्याण्डफिल साइटका लागि प्रारम्भिक वातावरणीय अध्ययन (IEE) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरका सरोकारवाला संघ–संस्था तथा जिम्मेवार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बारबरा इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि., काठमाडौं परामर्शदाता संस्थाका रूपमा रहेको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयारीका क्रममा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरूले बर्दघाटमा सेनेटरी ल्याण्डफिल साइट निर्माणका लागि विगतमा विनियोजन भएको संघीय बजेट फ्रिज भएको विषय गम्भीरताका साथ उठाएका थिए।

उनीहरूले दुई पटकसम्म दुई–दुई करोड रुपैयाँ बजेट फ्रिज हुनु राम्रो नभएको भन्दै अहिले विनियोजन भएको ५० लाख रुपैयाँको प्रभावकारी सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए। आयोजना निर्माणका लागि विनियोजित बजेट कुनै पनि बहानामा फ्रिज हुन नदिन सम्बन्धित निकायले गम्भीरतापूर्वक काम गर्नुपर्ने उनीहरूको सुझाव थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले विगतका वर्षमा जे भए पनि अब सेनेटरी ल्याण्डफिल साइट निर्माणका लागि आवश्यक भोगाधिकार प्राप्त गर्न सकेमा संघीय सरकारबाट प्राप्त ५० लाख रुपैयाँ अपुग भए नगरपालिकाले अन्य बजेट कटौती गरेर भए पनि आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर प्रमुख श्रेष्ठले नगरवासीहरूले आयोजना निर्माणका क्रममा अधिकार बढी खोज्ने तर कर्तव्य पूरा नगर्ने प्रवृत्तिका कारण पनि समस्या उत्पन्न भएको बताउनुभयो। सेनेटरी ल्याण्डफिल साइट निर्माणका लागि आवश्यक भोगाधिकार प्राप्त गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल नौ पटक र आफू सात पटकसम्म केन्द्रमा पुगेको उहाँले जानकारी दिनुभयो।