कृष्ण ढकाल
बर्दघाट, भदौ–१५
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बाढीपीडितलाई सहयोग गर्न पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा विभिन्न सामाजिक संघ–संस्थाले राहत सामग्री संकलन अभियानलाई तीव्रता दिएका छन्।
बाढीपीडितको दैनिक जीवनमा आवश्यक पर्ने दाल, चामल, चाउचाउ, नुन, तेल, दक्षिना, बिछ्यौना, लगाउने कपडा, मिनरल वाटरलगायतका खाद्यान्न तथा घरायसी सामग्री संकलन भइरहेको छ।
बर्दघाट चोकमा उद्योग ब्यापार संघ बर्दघाटले दुई दिनदेखि टेन्ट राखेर राहत सामग्री संकलन गरिरहेको छ। त्यस्तै, जिमिरेभारमा जिमिरेभार बजार विकास समिति र बीपी युवा क्लबले संयुक्त रूपमा राहत सामग्री संकलन अभियान सञ्चालन गरेका छन्।
यसैगरी, बर्दघाट–२ चिसापानीमा सूर्यज्योति युवा क्लबले गाउँघरमा गाडी घुमाएर स्थानीयवासीबाट राहत सामग्री संकलन गरिरहेको छ। बर्दघाटमा क्रियाशील एमआरआर समूहले पनि बजार क्षेत्रमा राहत सामग्री संकलन कार्यलाई तीव्रता दिएको छ।
राहत सामग्रीसँगै बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बर्दघाट नगरक्षेत्रबाट आर्थिक सहयोग जुटाउने क्रमसमेत बढेको छ। विभिन्न सामाजिक संघ–संस्था, आमा समूह, शैक्षिक संघ–संस्था, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न थालेका छन्। सहयोगीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा क्यूआरमार्फत तथा बैंक खातामा रकम जम्मा गर्ने क्रम दैनिक रूपमा बढिरहेको बताइएको छ।
बर्दघाट नगरपालिकाले पनि बाढीपीडितको राहत तथा उद्धारका लागि ३० लाख रूपैया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएकाे छ।
बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बर्दघाटमा सञ्चालन भइरहेका यस्ता अभियानले स्थानीयस्तरमा मानवीय सहयोग र सामाजिक एकताको भावना थप मजबुत बनाएको छ।
