sunwal

गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ पुर्जी जारी

652

प्रतापपुर ,साउन -२२

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवलाई पक्राउ पुर्जी जारी भएको छ । सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयोग गरेको विषयमा प्रहरीमा जाहेरी परेपछि प्रहरीले नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन थापाले अनुसन्धानको क्रममा रहेकोले केहि बताउन नमिल्ने बताउनुभयो । यादवलाई पक्राउ गर्नका लागि बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

यादव विरुद्ध सरकारी छाप र लेटरप्याड किर्ते गरी दुरुपयो गरेको भन्दै भारत विहार प्रदेश जिल्ला पश्चिम चम्पारन बालमिकी नगरमा अवस्थीत सम्पर्क तथा भुआर्जन कार्यालय गण्डक योजना बाल्मिकीनगरका भुआर्जन अधिकृत सोभित हलुवाईले ईलाका प्रहरी कार्यालय बेलाटारीमा २०८३ जेठ ६ गते जाहेरी दर्ता गराउनुभएको थियो ।

यादवले किर्ते सम्झौता पत्र तयार गरी गण्डक अन्तरगतको जग्गा भोगचलन गरी कृषि विकास बैंक बर्दघाट शाखाबाट कृषि ऋण अनुदानलिई सो जग्गामा पोखरी बनाई माछापालन गर्र्र्दै आईरहेको जाहेरीकर्ता हलुवाईले बताउनुभयो ।

गण्डक नहर माताहत रहेको जग्गा ब्यक्तिगत प्रयोजनमा दिने कार्यालयको तर्फबाट कुनै सम्झौता भएको प्रमाण नरहेको बताउँदै पालिका अध्यक्ष यादवले कार्यालयको लेटरप्याड र छाप किर्ते गरी दुरुपयोग गरेको हलुवाईको भनाई छ ।

हलुवाईले भुआर्जन कार्यालयको तर्फबाट मिति २०८२ चैत्र ३ गते चलानी नम्बर १४७ मार्फत पत्र पठाएर सम्बन्धीत प्रमाण भए उपलब्ध गराउन भनेकोमा प्रमाण केहिपनि दाखिला नगरी मौन रहनुले सम्झौता किर्ते रहेको प्रष्ट भएको जाहेरीमा दावी गर्नुभएको छ ।

यादव घरमै रहे पनि प्रहरीले पक्राउ नगरेको हलुवाईको दावीे छ । पालिका अध्यक्ष यादवले पक्राउ पुर्जीं जारी भएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताउनुभएको छ ।

के छ किर्ते भनिएको सम्झौता पत्रमा ?

सम्झौता पत्रमा २०७१÷०९÷२९ गते सम्झौता भएको उल्लेख छ । सम्झौता पत्रमा लेखिएको छ “ उपर्युक्त विषयमा गुठी सुर्यपुरा गाविस वडा नम्बर ९ बस्ने उमेशचन्द्र यादवको प्राप्त निवेदन अनुसार निजको नाममा रहेको गुठी सुर्यपुरा गाविस वडा नम्बर ८ को जग्गा विगाहा २–०–० संग टाँसिएको विहार सरकारको स्वामित्व अन्तरगत रहेको जग्गा मध्ये पानी निकास छोडि पूर्व पश्चिम ७० फिट चौडाइ र उत्तर दक्षिण ११५६ फिट लम्बाई रहेको जग्गामा माछापोखरी निर्माणका लागि आजका मिति देखी लागु हुने गरी मिति २०९१/९ /२८ गते सम्मको लिखित सम्झौता गर्ने निर्णय भए अनुसार तपाई श्री उमेश चन्द्र यादवलाई यो सम्झौता पत्र प्रदान गरिएको छ । साथै विहार सरकारलाई आवश्यक परेको बखत ६ महिना पुर्व लिखित सुचना दिई उक्त सम्झौता पुनरावलोकन गर्न सक्ने बेहोरा समेत जानकारी गरिन्छ । बोधार्थ पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नं. ७ सेमरी ।

सम्झौता पत्रमा तत्कालिन समयमा सम्पर्क तथा भुआर्जन अधिकृत विश्वबन्धु यादवको हस्ताक्षर देखिन्छ ।