sunwal

आ.व. २०८२/०८३ मा ८ करोड २९ लाख आय संकलन गर्न सफल बर्दघाट नगर

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिका प्रश्न तथा गुनासाहरु ?

653

कृष्ण ढकाल
बर्दघाट,असार–३१
बर्दघाट नगरपालिकाले आ.व. २०८२/०८३ मा सम्पादन गरेका वार्षिक आयोजना तथा कार्यक्रमहरु र सेवा प्रवाहको प्रभावकारीताका वारेमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट प्रेस क्लबको आयोजना र नगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रम बर्दघाट उद्योग वाणीज्य संघको सभाहलमा आज सम्पन्न भएको हो ।

बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल ( कृष्ण)को अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप(प्रमुख रूद्रप्रकाश उपाध्याय,प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल तथा वडाअध्यक्षहरू, विभिन्न शाखाका प्रमुख, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरले सम्पादन गरेका कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतगर्दै नगरपालिकाका सुचना अधिकारी तथा योजना शाखा प्रमुख पुस्कर काफ्लेले आ.व. २०८२÷०८३ मा बर्दघाट नगरपालिकाले आन्तरीक आयको लक्ष्य १० करोड ५ लाखको लिएको मा हिजो असार ३० गते सम्म ८ करोड २९ लाख २९ हजार ५ सय ६५ रुपैया आय संकलन गर्न नगरपालिका सफल भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।

आ.व. २०८२÷०८३ मा ९७ करोड ३४ लाख ८७ हजार वजेट विनियोजन गरेको बर्दघाट नगरपालिकाले ७९ करोड ७९ लाख १९ हजार ९ सय ३७ रुपैया अर्थात ८१. ९६ प्रतिशत मात्र खर्च गरेको जनाएको छ ।
जस्मा चालु खर्च ६० करोड ६१ लाख ८१ हजार विनियोजन गरेकोमा ५४ करोड ३८ लाख ८३ हजार अर्थात ८९. ७२ प्रतिशत मात्र खर्च गरेको छ भने पुंजीगत तर्फ ३६ करोड ७३ लाख ५ हजार विनियोजन गरेकोमा २५ करोड ४० लाख ३६ हजार अर्थात ६९.१६ प्रतिशत मात्र खर्च गरेको नगरपालिकाका सुचना अधिकारी तथा योजना शाखा प्रमुख पुस्कर काफ्लेले प्रस्तुत गरेको प्रतिवेदनमा जनाईएको छ ।

यो बर्ष पूर्वाधार निमार्णमा १८ .३४८ किलो मिटर सडक निमार्ण गरिएको जानकारी गराउनु भएको थियो भने २.२११९ किलो मिटर सडक कालोपत्रे,३.३२९३ किलो मिटर पि.सि.सि. र आर.सि.सि. सडक र २.०४८ किलो मिटर कालोपत्रे सडक मर्मत गरेको जानकारी गराउनु भएको थियो ।

घरनक्सा पासको अवस्था हेर्दा यो वर्ष बर्दघाट नगरको १६ वटै वडामा घरनक्सा पास गरेर नयाा घर निर्माण गर्नेको संख्या १६ जना मात्र रहेको नगरको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष ९ सय १९ को जन्म दर्ता ४ सय ७९ जनाको मृत्यु दर्ता , ५ सय २३ जनाको बिवाह दर्ता , ९९ जनाको सम्वन्ध विच्छेत, वसाई सराईगरी आएको ३ सय ४४ र बसाई सराईगरी गएको १ सय ७९ गरी २ हजार ५ सय ४३ वटा ब्यीक्तगत घट्ना दर्ता भएको तथ्याङ्क तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नगरले प्रस्तुत गरेको छ ।

आ.व. २०८२÷०८३ मा ५ सय २३ वटा योजनाहरु अघिसारेको बर्दघाट नगरले ४ सय ९८ वटा योजनाहरु सम्पन्न गरेको छ भने २५ वटा योजनाहरु अधुरै रहेका छन । सम्पन्न गरीएका योजनाहरु उपभोक्ता समिति तथा विभिन्न संघ संस्थाहरु मार्फत ४ सय २१ वटा,क बोलपत्र मार्फत ३५ वटा र कोटेशन विधि मार्फत ४२ वटा योजनाहरु सम्पन्न भएको जनाईएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिका प्रश्न तथा गुनासाहरु ः

आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं. ५ का राकेश काफ्लेले सडक निर्माणका क्रममा नक्सा अनुसार काम नभएको गुनासो गरेका थिए भने वडा नं. ९ का थम बहादुर थापाले बाटो निमार्ण गर्दा पहिले नाला बनाउनु पर्ने,बनेको बाटोको गुणस्तर चेकहुनु पर्ने, लगाए नगरले गत वर्ष लगाएत ४५ सय बिरुवाहरुको अवस्था के छ ? भनेर प्रश्न गर्नु भएको थियो ।
त्यसैगरी वडा नं. ४ ,बर्दघाटका शिव प्रसाद पाण्डेले प्रत्येक पटक मरो जग्गा नाप्दा फरक फरक सिमाना किन हुन्छ ? भन्दै नगरप्रमुखसंग त्यसको निकास खोज्नु भएको थियो भने संसारकोटमा पहिले भ्युटावरका नाममा लगेको बालुवा र ईट्टा कता हरायो ? भन्दै प्रश्न गर्नु भएको थियो । अर्काे वडा नं. ४ बाढीपिडितका भुपलाल थापाले टोल समितिसँग सहकार्य नगरी मनपरि नगर र वडाले काम गर्ने भए किन टोलविकास समिति गठन गरेको ? भन्दै प्रश्न गर्नु भएको थियो । उहाँले टोलका काममा राजनिति नगर्न भन्दै स्थानिय हाटबजारको ठेक्का बढी भएको समेत गुनासो गर्नु भएको थियो ।
वडा नं. १० का नारायण धिमिरेले नगरले स्वास्थ्यको क्षेत्रमा वाहेक अरु क्षेत्रमा सन्तोषजनक काम नगरेको भन्दै करिव २ दर्जन प्रश्न ,सुझाब तथा गुनासाहरु राख्नु भएको थियो । उहाँले कर्मचारीले मुस्कान सहितको सेवा नभै थकार्न सहितको सेवा दिने गरेको आफ्नो अनुभव रहेको उल्लेख गर्नु भयो । टेक्टरको जोताइ दर रेट देखि पाडी हुकाउने कार्यक्रम सम्मका योजनाहरुका वारेमा चाँसो ब्यक्त गर्नु भएको थियो । दाईजो प्रथालाई जनप्रतिनिधिहरुले नै बढवा दिनेगरेको अनुभव देखि नगरमा चुरे अभियान्ताहरुले शुरु गरेको संभवनाको खोजीका लागि नगरले केहि नगरेको घिमिरेको गुनासो रहेको थियो ।


वडा नं. ४की पुजा गौडेलले सुकुम्वासी समस्या देखि डुवानका वारेमा गुनासो गर्नु भएको थियो भने वडा नं. ५ का सुसील वगालेले नगरको भुमिकरले किसानहरुको उठीवास लगाएको गुनासो गर्न भएको थियो । त्यसैगरी वडा नं. ४ का रविन्द्र बिक्रम हमालले नगरको भुमिकर महंगो भएकोले कृषि र आवासलाई पुनः वर्गीकरण गनुपर्ने सुझाव दिनु भएको थियो । भने नगरले अहिले सम्म गरेको लगानीको प्रतिफल के आयो ? भनेर प्रश्न गर्नु गर्नु भएको थियो ।
त्यस्तै वडा नं. ४ का रामप्रसाल पौडेलले चिसापानी अस्पताललाई नगर अस्पताल घोषणा गर्न सफल भएकोमा धन्यवाद दिदै कृषिको अनुदानले कस्लाई के भएको छ ? घण्टाघरले किन जिस्काएको छ ? नगरको बरुजु घटाउनन के गरीएको छ ? र शिक्षाको स्माटबोर्डको १ करोड ६४ लाख रकम किन र कस्का कारणले खर्चहुन सकेन त्यसको क्षेती कोबाट असुली गर्ने भन्दै प्रश्न गर्नु भएको थियो ।
अर्का वडा नं. ९ का गिरीराज रेग्मीले चौपत्त अस्पताललाई पनि ध्यानदिन आग्रह गर्दै नगरका संस्थागत विद्यालयले शिक्षकहरुलाई गरेको लगानी भन्दा सामुदायिक विद्यालयका शिक्षकहरुलाई बढी लगानी गरेर पनि प्रतिफल कम आउने गरेको प्रति नगरले किन चाँसो दिदैन ? भन्दै प्रश्न गर्नु भएको थियो ।

सोही कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले केहि विद्यालयहरुलाई जस्तापाता र दरवन्दी अनुसारका शिक्षा उपलब्ध गराउन आग्रह गर्नु भएको थियो । भने वडा नं. ४ का विजय नेपालले टोल विकासलाई बजेट छुट्टाउदा काम गर्न पुग्नेगरी हुनु पर्ने माग गर्नु भएको थियो ।

नगरवासीहरुले राखेका प्रश्न तथा गुनासोहरुको उत्तर नगर प्रमुख ,नगर उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत र शाखा प्रमुखहरुले दिनु भएको थियो भने कार्यक्रम प्रेस क्लबका सदस्य रामु भुषालको स्वागत मन्तब्य र प्रेस क्लबकी कोषाध्यक्ष्ँ विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।