सुनयना चौधरी
बर्दघाट, भदौ ४ –
भदौ ३ गतेको राति, बर्दघाटको माकर बहुमुखी सहकारी संस्थाको आँगन असामान्य रूपमा भिडभाडले भरिएको थियो। टर्चको उज्यालोमा देखिएका किसानका अनुहारमा थकाइ र आशा मिसिएको थियो। कसैले सुत्न त्रिपाल बोकेर ल्याएका थिए त, कसैले टिफिनमा भात तरकारी , कारण एउटै – युरिया मल पाउने आशा
“रातभर लाइन बस्दा कम्तीमा भोलि २५ केजी मल लिएर घर जान पाइन्छ भन्ने सोच्थ्यौं,” – पशुपति चौधरी , वडा नं. ४ का किसानले भन्नुभयो, – “तर बिहानै खबर आयो, १० केजी मात्र दिने रे । हाम्रो खेतमा त्यो मलले के पुग्छ?”
मलको असमान वितरणले चर्कियो असन्तुष्टि
संस्थाले भदौ २ गते सूचना प्रकाशन गर्दै बर्दघाट नगरपालीका वडा नं. ६ का किसानलाई ३ गते र वडा नं. २ , ३ र ४ का किसानलाई ४ गते मल वितरण गर्ने भनेको थियो । जस अन्तर्गत भदौ ३ गते वडा नं. ६ का किसानलाई २५ केजीको दरले मल वितरण गरिसकेको छ । त्यो देखेर अन्य किसानमा अपेक्षा बढेको थियो , तर भदौ ४ गते वडा नं. ४, २ र ३ का किसान जम्मा हुँदा उपलब्ध मल २५ केजि को दरले नपुग्ने अवस्था देखियो । समाधान स्वरूप सहकारीले १० केजी मात्र दिने घोषणा ग¥यो । तर किसानले अस्वीकार गरे । “हिजो वडा नं. ६ का किसानले २५ केजी पाउँछन्, हामीलाई किन आधा?” – किसानको एक स्वरले सहकारी आँगन नै गुञ्जायमान भयो ।
आक्रोशित किसानले सहकारीको ढोका अगाडि नाराबाजी गर्दै अन्ततः तालाबन्दी गरे । केही समयका लागि सहकारी वरपर तनावपूर्ण अवस्था सिर्जना भयो । नगर प्रहरी परिचालन भएपछि मात्र तालाबन्दी खोलेर स्थिति नियन्त्रणमा आयो । तर किसानको असन्तुष्टि भने कम भएन । सहकारीले अर्को सूचना नआएसम्म मल वितरण रोक्ने निर्णय गरेको छ । जसका कारण बिहानैदेखि लाइनमा बसेका सयौं किसान खाली हात घर फर्किन बाध्य भए ।
“ खेतमा धान उम्रिसकेको छ, पानी पनि राम्रो परेको छ । अब यसैबेला मल नपाए भने उत्पादन आधा घट्छ,” – डम्मर कुमारी श्रेष्ठ , वडा नं. ४ की महिला किसानले भनिन् । उनले थपिन्, “हाम्रो मेहनत, खर्च र आशा सबै खेर जाने डर छ ।”
मल वितरण जस्तो संवेदनशील विषयमा असमानता र आपूर्ति अभावका कारण किसानमा असन्तोष बढ्दो छ । बर्दघाटको यो घटनाले देखाएको छ – किसानलाई आवश्यक समयमा खाद्यान्न उत्पादनका आधारभूत साधन उपलब्ध गराउन नसके विकास र आत्मनिर्भरता भन्ने नाराहरू व्यवहारमा खाली रहन्छन् ।