sunwal

गरीव विपन्न एकल महिला चानमति हरिजनलाई घर निर्माण गरी हस्तान्तरण

483

कृष्ण ढकाल
बर्दघाट,बैशाख –२२
बर्दघाट–२, चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहले बर्दघाट–१२ भटौलियाकी गरीव विपन्न एकल महिला चानमति हरिजनलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

सामुदायिक उत्तरदायित्व वहनगर्दै वन समूहले आफनो सेवाक्षेत्र भित्रका गरिब तथा बिपन्न परिवार मध्ये सबै भन्दा विपन्न रहेकी चानमतिका लागि दुई कोठो घर निमार्ण गरी आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरेको हो।

७० वर्षीया हरिजन २०३० सालदेखि भटौलियामा नै बसोबास गर्दै आइरहेकी थिइन्। घर बनाउने आर्थिक क्षमता नभएकी हरिजनलाई चिसापानी सामुदायिक वन उपभोक्ता समूहको घर निर्माण संयोजक महेन्द्र काफ्लेले आफ्नो २ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि समुदायको सहयोगमा २५ दिनको अवधिमा ६ लाख ३० हजार रुपैयाँ खर्चेर जस्तापाता लगाएको पक्की घर निर्माण गरिएको हो।

घर हस्तान्तरण कार्यक्रम चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री कलवारले आफू वन मन्त्री बनेको ६ महिनामा पहिलो पटक सामुदायिक वनले विपन्नलाई घर निमार्ण गरेर हस्तान्त्रण गरेको देख्न पाएको बताउनु भयो । वनले गरेकोकाम प्रति खुसी व्यक्त गर्दै मन्त्री कलवारले सामुदायिक वनले स्वास्थ्य, शिक्षा, आवास लगायतका क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताउनु भएको थियो ।
त्यसैगरी डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख वन अधिकृत जीवन पंगेनीले सामुदायिक वनले समुदायमै प्रत्यक्ष प्रभाव पार्ने कार्यहरूमा जोड दिनुपर्ने उल्लेख गर्दै चिसापानी सामुदायिक वनले गरेका कर्यहरु सकारात्मक रहेकाले सबै वन उपभोक्ता समूहका लागि उदाहरणीय रहेको बताउनु भएको थियो ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष इन्दुदेवी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै समूहका अध्यक्ष हामेबहादुर गुरुङले विद्यालय, प्रहरी चौकी, अस्पतालजस्ता संस्थामा पनि आफ्नो समूहले फर्निचर तथा आर्थिक सहयोग गर्दै आएको जानकारी गराउनु भएको थियो।

समूहका सदस्य प्रेम भुजेलले सञ्चालन गर्नु भएको घर हस्तान्तरण कार्यक्रममा घर प्राप्त भएपछि गरीव विपन्न एकल महिला चानमति हरिजन निकै खुसी हुनुभएको थियो ।