Jilla Ban Notis

सुस्ताको जनकल्याण सामूदायिक वनमा बृक्षारोपण

0 30

 

सुस्ता ,असार -१३

सुस्ता गाउँपालिका वडा नम्बर १ मा रहेको जनकल्याण सामुदायिक वनमा वृक्षारोपणको उद्घाटन गरिएको छ । आज (बुधबार) जनकल्याण सामुदायिक वन उपभोक्ता समूह र नेपाली सेना नं. २ वन तथा पर्यावरण सुरक्षा गणको संयुक्त आयोजनमा एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको हो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम अन्तरगत गरिएको वृक्षारोपणमा विभिन्न १० प्रजातिको विरुवाहरु रोपिने भएको हो । उक्त कार्यक्रम अन्तरगत ३२ हेक्टरमा वृक्षारोपण गरिने भनियतापनि जग्गा अपुग हुँदा करिब २८ हेक्टरमा यस पटक वृक्षारोपण हुने जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

औचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले वृक्षारोपण पछि त्यसको संरक्षणको विषय महत्वपुर्ण भएको बताउनुभएको छ । अहिलेको वृक्षारोपण र त्यस क्षेत्रमा गरिएको तारबार जोगाउनु वन उपभोक्ता समूहको मुख्य चुनौति रहेको बताउनुभएको थियो ।

सुस्ता गाउँपालिकाले समेत सामुदायिक वनलाई प्राथमिकतामा राखी विगतमा समेत उपभोक्ता समूहहरुको क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गरेको भन्दै त्यसलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिइने उपाध्यायले बताउनुभएको थियो । त्यस्तै सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले वन विनास हुँदा पछिल्लो समय पानिको मुहानहरु समेत सुकेको भन्दै सामुदायिक वन उपभोक्ता समूहहरुलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ पश्चिम नवलपरासीका अध्यक्ष शारदा पोखरेलले उपभोक्ताहरुलाई जिम्मेवार बनाए मात्रै सामुदायिक वन संरक्षण गर्न सकिने बताउनुभएको थियो । अहिले गरिएको वृक्षारोपणलाई जोगाउन सकिएको खण्डमा केही वर्षमा वनका उपभोक्ताहरुले प्रयाप्त प्रतिफल लिन सक्ने धारणा राख्नुभएको थियो । त्यस्तै प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालयका रेन्जर चिन बहादुर यादवले राजनैतिक दलका प्रतिनिधिहरुको दवावको कारण वनमा चोरी, सिकारी तथा तस्करी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन नकिएको बताउनुभएको थियो । उहाँले वन संरक्षणमा वन उपभोक्ता समूह नै जिम्मेवार हुनुपर्ने बताउँदै वन उपभोक्ता समूहलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.