उसलाई देशको माया नै थिएन
घरको माया झन् के होला र खै
तेसैले त उ देशै छोडेर टाढा गयो
परिवार भन्दा पनि पर भयो
एरपोर्टमा हाँसीरह्यो होला
निधारमा दुख कत्ति थिएन
आँखामा डर कत्ति थिएन
भोली
फर्केर आउछु आउदिन
परिवार देख्न पाउछु पाउदिन
भन्ने पनि के नै सोच्यो होला र खै
जाहाजको झ्याल बाहिर
बादलको बीचमा
आफ्नो भविष्य पनि खोजेन होला उसले
जाहज बादलको ढिस्कोलाई उछिन्दै
उडी रहँदा, हल्लीरहँदा
आमालाई पनि सम्झेन होला
माया गर्ने भए त्यसरी सबै छोडेर जान्थ्यो र?
२०सौ बर्ष
एउटा भित्तो र भुईको साहरामा
युवा अवस्था तेसै बितायो
सिमेन्ट र बालुवाको बगैचामा
भित्तोमा देशको झण्डा राख्यो
सिरानीमा घरको फोटो राख्यो
मुटुभरी माया थुपार्यो
रगत बगायो, पसिना बगायो
केही कमायो
आफुले एक चिम्टी राख्यो
समुन्द्र पारी एक मुठी पठायो
खुशी छु भनेर ढाट्यो
सन्चै छु भनेर हाँस्यो
राती सपना नराम्रो देख्दा
झंसग भयो, उठेर झोक्राई रह्यो
उता देशतीर कहिले घामलाग्ला र
फोन गरेर बोलम्ला भनेर जागी रह्यो
माया मारेर हिडेको मान्छे
सबै त्यागेर हिडेको मान्छे
साँच्चै माया नभएर नै होला है
उसले घर छोडेर हिडेको..