sunwal

सरकारद्धारा उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित ।

75

काठमाडौं २८ माघ

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका ठूला निर्यातकर्ता, धेरै रकम लगानीकर्ता तथा धेरै रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीलाई  महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहकाबीच उक्त सम्मान प्रदान गरे । सरकारले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने २५ जना उद्योगी व्यवसायीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र परिचय पत्रसहित, वाणिज्य बैठक र छलफलमा सहभागीताका लागि प्रथमिकता, देश विदेशमा हुने मेला छलफलमा सहभागिता जनाउन पहिलो रोजाईमा पर्नेछन् । सम्मानित हुनेहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आईसीपी लवी र अन्तरिकमा भीआईपी लबीको सुविधा प्रयोगको अवसर पाउने छन् ।

भारत तथा चीन एवं तेस्रो मुलुकमा निकासी गर्ने, धेरै लगानी गर्ने, धेरै कृषि वस्तु तथा जडिबिुटी निर्यात गर्ने, धेरै रोजगारी प्रदान गर्ने लगायतका कुल १३ विधामा २५ उद्योगी व्यवसायीलाई सरकारले सम्मान गरेको हो । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उलेख्य योगदान पुर्‍याएको भन्दै सरकारले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष  राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरलाई पनि सम्मानीत गरेको छ ।